दाङ ।
स्थानीय उत्पादनले बजार नपाएको र तरकारी तथा फलफूल खेर गइरहेको अवस्थामा दाङमा पहिलोपटक कृषि उपज सस्तोमा उपलब्ध गराउने सहकारी बजार सञ्चालनमा आएको छ । बिचौलियाका कारण किसानले बजारमा उचित मूल्य पाउन नसकेका, उपभोक्ताले चर्को मूल्यमा तरकारी तथा फलफूल किन्न बाध्य भएको समयमा सहकारी बजार सञ्चालनमा ल्याइएको हो ।
लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले घोराहीको मुख्य ठाउँ तुलसीपुरचोकमा सहकारी बजार सञ्चालनमा ल्याएपछि दाङका नागरिकलाई सामान खरीदबिक्रीमा सहज भएको छ । घोराही–६ का किसान मदन चौधरीले काउली, बन्दा, मूला, आलुलगायत तरकारी बेच्न घोराही बजारमा ग्राहक खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य भको छ । घर उत्पादन गरेका वस्तुले बजार नपाएर खेर गइरहेका बेला दाङमै पहिलोपटक कृषि सहकारी बजारमा बिक्री गर्न पाउँदा खुशी लागेको बताए ।
घोराही–१७ का शीवा चौधरीले सहकारी बजारमा तरकारीको उचित मूल्य पनि पाएको र समयको बचत भएको बताउनुभयो । तरकारी व्यापारीले सामान लगे पनि समयमा पैसा नदिने समस्या थियो । अहिले सहकारीमा सामान बिक्री गर्दा सजिलो र भरपर्दो भएको उनको भनाइ छ । सहकारी बजार सञ्चालनमा आएपछि तरकारी खेतबारीमै कुहिएर खेर जाने समस्या हटेको छ । घोराही–१५ की राधा लम्सालले सहकारी बजारमा सबै सामान एकै ठाउँमा पाउने भएकाले समयको बचत भएको बताए ।
प्रतिक्रिया