९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सरकार विरुद्ध बैज्ञानिक बन व्यवस्थापन सञ्जाल थप आन्दोलित, यातायात बन्दसम्मको घोषणा



मायादेवी अनलाइन, वाणगंगा ।
सरकारले गत जेष्ठ महिनादेखि बैज्ञानिक बन व्यवस्थापनमा रोक लगाएको प्रति बैज्ञानिक बन व्यवस्थापन सरोकारवालाको सञ्जाल कपिलवस्तु थप आन्दोलित बनेको छ । सञ्जालले शुक्रबार जिल्लाको गोरुसिंगेमा पत्रकार सम्मेलनको आयोजना गरी चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

सञ्जालकी कपिलवस्तु संयोजक रेनु सेनले आफुहरुले रोकिएको कामलाई तत्काल सुचारु गर्न दबाब दिदैं आएको भएपनि सरकारले उक्त मागलाई व्यवस्था गरेको भन्दै चरणबद्ध आन्दोलनमा होमिएको बताउनुभयो ।

सञ्जालले गत हप्तामात्र सरकारी निर्णयको बिरोध गर्दै लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय, प्रदेशकै बन मन्त्रालय, जिल्लाभित्रका डिभिजन बन कार्यालय र प्रशासन कार्यालयमा ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाएको थियो ।

जिल्लाभित्र बैज्ञानिक बन व्यवस्थापन लागु भएका सामुदायिक बन र साझेदारी बनले सञ्जाल मार्फत यही पुस ५ गतेदेखि १० गतेसम्म जनजागरण अभियान सञ्चालन गर्ने संयोजक सेनले जानकारी गराउनुभयो ।

पुस ११ गते डिभिजन बन कार्यालय तौलिहवा र जिल्ला प्रशासन कार्यालय कपिलवस्तु घेराउ गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । साथै पुस १३ गते गौतम बुद्ध डिभिजन बन कार्यालय घेराउको कार्यक्रम राखेको सञ्जालले पुस १५ गते जिल्लाभित्रका यातायात बन्द गर्ने जनाएको छ ।

पुस १५ अगावै सरकारले बैज्ञानिक बन व्यवस्थापनको काम गर्न दिए सबै आन्दोलनका कार्यक्रम स्थगित हुने भन्दै काम गर्न नदिए आन्दोलनलाई थप सशक्त बनाउने सञ्जालको चेतावनी छ ।

आफैले लागु गरेको बैज्ञानिक बन व्यवस्थापनलाई खारेज गरे सरकार आफै नैतिक संकटमा पर्ने भन्दै त्यतातिरको बाटो अवलम्वन नगरि गल्ती भएको ठाउँलाई सुधार गर्न तर्फ लाग्नुपर्नेमा सञ्जालले जोड दिएको छ ।

पत्रकार सम्मेलनमा सञ्जालका वरिष्ठ सल्लाहकार जय प्रकाश पाण्डेय, अब्दुल अजिज खाँ लगायतले बोल्दै बैज्ञानिक बन व्यवस्थापनका बारेमा अध्ययन गर्न बनेका विभिन्न उपसमितिले तथ्यलाई लुकाई होचुवाको भरमा प्रतिवेदन सार्वजनिक गरेको भन्दै आपत्ति जनाउनुभएको थियो ।

सञ्जालका उप संयोजक शेषकान्त बेल्वासेको स्वागत मन्तव्यमा भएको पत्रकार सम्मेलनमा सञ्जालका सचिव सूर्य बहादुर मल्लको सञ्चालन रहेको थियो भने सह-सचिव डिल्ली रेग्मीले ध्यानाकर्षणसहितको ज्ञापनपत्र पढेर सुनाउनुभएको थियो ।

प्रकाशित मिति : ३ पुस २०७७ शुक्रबार ००:००  ६ : ४९ बजे