मायादेवी अनलाइन, चार नम्बर ।
कोरोना कहरकै बीचमा जाडोका कारण सर्वसाधारणको ज्यान जान थालेको छ । शीतलहरी सुरु भइसक्दा समेत स्थानीय र प्रदेश सरकारले यसबाट बच्न पूर्व तयारी नथाल्दा प्रदेश नम्बर २ मा अहिलेसम्म ३ जनाको मृत्यु भएको छ ।
शीतलहरी सुरु भइसक्दा समेत स्थानीय र प्रदेश सरकारले यसबाट बच्न पूर्व तयारी नथाल्दा मृत्यु हुने क्रम सुरु भएको छ । पछिल्लो पटक शीतलहरीका कारण सिरहामा मात्रै तीनजनाको मृत्यु भएको छ । एक जनाको भने शीतलहरीबाट बच्न आगो तापिरहेको अवस्थामा जलेर मृत्यु भएको छ ।
बरियारपट्टी गाउँपालिका ५ झिझौल बस्ने छेदी यादवका २५ बर्षीय छोरा रबीन्द्र यादवको मृत्यु भएको छ । गत मंसीर २२ गते राति खाना खाएर सुतेका उनी बिहान ४ बजे उठाउन जाँदा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
सोही राति मिर्चेया नगरपालिका ११ गदहबा बस्ने धर्मनाथ यादवका २५ बर्षीय छोरा अरुण यादवको पनि चिसोकै कारण मृत्यु भएको छ । छिमेकी रामबै यादवको घरमा सुतिरहेका उनलाई बिहान काका प्रमोद यादवले उठाउन जाँदा नबोलेपछि तत्काले उपचारका लागि फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हा लगिएको थियो । जहाँ उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।
कर्जन्हा नगरपालिका १ बहेरबनीस्थित तारकेश्वर मन्दिर नजिक टहरामा पहिचान खुल्न नसकेका ५० वर्षीय पुरुषको पनि चिसोका कारण मृत्यु भएको छ । उनको मंसिर २७ गते मृत्यु भएको हो ।
जाडो छल्न सर्वसाधारण आगो ताप्ने गर्छन् । तर यो आगो पनि मृत्युकै कारण बनिरहेको छ । सिराहाकै कर्जन्हा नगरपालिका ३ बन्दीपुर बस्ने ७० बर्षीय बृद्धको जाडो भगाउने क्रममा आगो ताप्दा जलेर मृत्यु भएको छ । गोठघरमा बालेको आगोको घुर ताप्ने क्रममा मंसीर २८ गते जलेर गम्भीर घाइते भएका बिलटु महतोको मंसिर २९ गते किर्तिपुर अस्पताल काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ ।
खासगरी प्रदेश २ मा प्रत्येक बर्ष शीतलहर आउने गर्दछ । तर, यसबाट बच्न कुनै बर्ष पूर्व तयारी गरिदैन् । यस पटक शीतलहरी सुरु भएको एक साता बितिसक्दा समेत पूर्व तयारी गरिएको छैन् ।
यस्तै कपिलवस्तुसहितका तराइका अन्य जिल्लामा शितलहरी सुरु भइसक्दा स्थानीय सरकारको कुनै तयारी भएको देखिँदैन भने प्रदेश सरकारले पनि अहिलेसम्म यसबाट जनतालाई बचाउन कुनै ठोस कार्यक्रम ल्याएको देखिन्न ।
प्रतिक्रिया