९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

शिवराजमा व्यवसायिक बनाउन व्यवसाय प्रवद्र्धन सञ्जाल



मायादेवी अनलाइन, चन्द्रौटा ।
सम्बाद केन्द्रका सदस्यहरुलाई व्यवसायिक बनाउन कपिलवस्तुको शिवराजमा व्यवसाय प्रवद्र्धन सञ्जाल गठन गरिएको छ ।

स्ट्रोम फाउण्डेसनको सहयोगमा किर्डाक नेपालद्वारा संचालित कार्यक्रम अन्तर्गत नगरका विभिन्न गाउँमा गठित सम्बाद केन्द्रका सदस्यहरुको व्यवसाय प्रवद्र्धनका लागि सञ्जाल गठन गरिएको हो । शिवराज १, बेलौतीस्थित होटल औरोरामा आयोजित भेलाबाट टीका बुढा अध्यक्ष रहेको ११ सदस्यीय व्यवसाय प्रवद्र्धन सञ्जाल गठन गरिएको छ ।

सञ्जालको उपाध्यक्षमा हर्जी थारु, सचिवमा शान्ति के.सी., सहसचिवमा पुष्पा खडका र कोषाध्यक्षमा जीवा वि.क. सर्वसम्मत चयन भएका छन् । यस्तै सञ्जालको सदस्यहरुमा मीना बराल, गीता थारु, दीपा राई, भुटिया थारु, भगेलु थारु र कौशिला थारु रहेका छन् ।

कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले नव गठित सञ्जालका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिंदै व्यवसाय प्रवद्र्धन गर्दै आत्मनिर्भर बन्न प्रेरणा दिइन् । उनले नगरभित्रका सम्पूर्ण समूह सञ्जाललाई व्यवसायतर्फ उन्मुख भई आर्थिक उपार्जनमा लाग्नुपर्नेमा जोड दिइन् । नगरपालिकाबाट हुनसक्ने सहयोग गर्ने समेत उपप्रमुख थारुले प्रतिबद्धता जाहेर गरिन् ।

कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष जगतबहादुर जि.सी., व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका जिल्ला अध्यक्ष विष्णु प्रसाद खतिवडा, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुका वरिष्ठ उपाध्यक्ष लेखनाथ घर्ती, शिवराज नगरपालिका पशु शाखा प्रमुख रामप्रसाद अधिकारी लगायतले नव गठित सञ्जालका पदाधिकारीहरुको सफल कार्यकालको शुभकामना दिएका थिए ।

साथै किर्डाक नेपालले समुदाय सशक्तिकरणमा खेलेको भूमिका अतुलनीय रहेको वक्ताहरुको जोड थियो । कार्यक्रममा किर्डाक नेपालका प्रमुख हरिप्रसाद लौडारीले सञ्जालको महत्व र औचित्यबारे प्रकाश पारेका थिए । लौडारीले किर्डाक नेपालद्वारा आफूहरुले पछाडि परेका समुदायको शिक्षा, स्वास्थ्य, रोजगारको साथै समुदाय सशक्तिकरण तथा आर्थिक सबलीकरणका पाटोमा काम गर्दै आएको औल्याएका थिए । कार्यक्रमका सहभागीले आफूले गर्दै आएको व्यवसायबारे सिकाई र अनुभव सुनाएका थिए ।

प्रकाशित मिति : ३ पुस २०७७ शुक्रबार ००:००  ८ : २९ बजे