एजेन्सी ।
बायर्न म्युनिखका प्रशिक्षक हान्सी फ्लिकले रोबर्ट लेवान्डोस्की विश्व वर्ष खेलाडीका वास्तविक हकदार भएको बताएका छन् । लेवान्डोस्की फिफा वर्ष खेलाडीको अन्तिम तीनको सूचिमा मनोनित भएका छन् ।
बिहिबार स्विटजरल्याण्डको जुरिचमा हुने कार्यक्रममा अवार्ड विजेताको नाम घोषणा गरिनेछ ।लेवान्डोस्कीसंगै वर्ष खेलाडीको मनोनयनमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी समेत रहेका छन् ।
३२ वर्षिया फरवार्डले दुई गोल गरेको खेलमा बायर्न म्युनिखले बुधबार राति वोेल्फ्सबर्गलाई २–१ ले हराएको थियो । प्राप्त जितले बायर्नले लिग तालिकामा शीर्ष स्थानको बायर लिभरकुसनसंगको दुरी एक अंकमा झारेको छ ।
बुधबार राति लेवान्डोस्कीले बुन्डेसलिगामा २ सय ५० गोलको कोशेढुङ्गा पार गरे । उनले ३ सय ३२ खेलमा सो कोशेढुङ्गा बनाएका हुन् । उनी भन्दा अघि रहेका गेरड मुलरले ३ सय ६५ गोल गरेका छन् भने क्लाउस फिसले २ सय ६८ गोल गरेका छन् ।
लेवान्डोस्कीले यस सिजन लिगमा ११ गोल पुरा गरेका छन् । सबै प्रतियोगितामा उनको गोल संख्या १५ पुगेको छ । उनकै प्रर्दशनमा बायर्नले गत सिजन च्याम्पियन्स लिगको उपाधि जितेको थियो । च्याम्पियन्स लिग सहित बायर्नले तीन उपाधि गत सिजन हात पारेको थियो ।
बायर्नका सहकर्मी म्यानुअल नोयरले समेत लिगमा २ सय खेलमा जित निकाले । उनले २ सय ६१ खेलमा सो सफलता प्राप्त गरेका हुन् । थोमस मुलरको कीर्तिमानलाइ पछि पारेका नोयर फिफाको वर्ष उत्कृष्ट गोलकिपरको सूचिमा रहेका छन् ।
‘मैदानमा उनी एकतर्फबाट धेरै महत्वपूर्ण हुन्छन् । तर उनी टिमको घेराभित्र समेत हुन्छन् ।’ फ्लिकले भने । ‘निश्चित रुपमा उनी एक महत्वपूर्ण खेलाडी हुन् । जो सही अर्थ राख्छन् ।’ उनले थपे ।
‘त्यसैले हामी सबैले हेरिरहेका छौ । म्यानुअलको साथमा लेवान्डोस्कीले समेत पुरस्कार जित्नेछन् । दुवै खेलाडी वास्तवमा यसको हकदार हुन् ।’ उनले भने ।
फ्लिक समेत लिड्स युनाईटेडका मार्सेलो बायलासा र लिभरपुलका योर्गेन क्लोपसंगै फिफा वर्ष प्रशिक्षकको मनोनयनमा परेका छन् ।
प्रतिक्रिया