९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

बेसहारालाई सरकारले साहारा दिन्छः अर्थमन्त्री पौडेल



रुपन्देही ।

घरबारविहीन भएकाका लागि रुपन्देहीको तिलोत्तमामा मानवसेवा आश्रम निर्माण कार्य शुरु भएको छ । घरबारविहीन भई सडक पेटीमा बस्न बाध्य भएकालाई गाँस, बाँस र कपासको व्यवस्था गर्ने उद्देश्यले तिलोत्तमा नगरपालिका ६ पश्चिम पहुनीमा आश्रमका लागि भवन निर्माण शुरु गरिएको हो ।

मानवसेवा आश्रमको शिलान्यास गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बेसहारालाई साहारा दिने कार्यमा सरकारको सदैव सहयोग रहने बताउनुभयो । उहाले देशका विभिन्न स्थानमा यस्ता आश्रमको स्थापना गरी देशलाई सडक मानवमुक्त बनाउनुपर्ने बताउनुभयो । सामाजिक सेवाको भावना राखेर गरिने कुनै पनि कार्यमा सरकारको सहयोग रहने उहाले प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले प्रदेशलाई सडक मानवमुक्त बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले सेवा नै धर्म हो भन्ने भावना राखेर मानव सेवा आश्रमको कामलाई पूर्णता दिनुपर्ने धारणा राख्नुभयो ।

मोक्षधाम परिसरभित्र निर्माण हुने प्रस्तावित भवनको लागत करिब रु छ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको भवन निर्माण समितिका अध्यक्ष लोकनाथ भुसालले जानकारी गराउनुभयो । घरबारविहीन भई सडक पेटीमा गुजारा गर्दै आएका व्यक्तिलाई गाँस, बाँस र कपासको व्यवस्था गर्दै आएको मानव सेवा आश्रमले देशका सातवटै प्रदेशमा २१ वटा शाखामार्फत एक हजार १०० बढी सहयोगापेक्षी सडक आश्रित मानवको मानवोचित व्यवस्थापन गर्दै आएको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । रासस

प्रकाशित मिति : १ पुस २०७७ बुधबार ००:००  ६ : २९ बजे