चितवन ।
राप्ती टिमले गौतमबुद्ध कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा नारायणीलाई ९ रनले पराजित गर्दै राप्तीले पहिलो संस्करणको उपाधि जितेको हो।
भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा १ सय ४४ रनको लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रनमा समेटियो ।
उसका आरिफ शेखले सर्वाधिक ४८ रन बनाए । ३१ बलको सामना गरेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै, रित गौतम र इशान पाण्डेले समान २७-२७ रनको योगदान गरे ।
राप्तीका अविनास बोहराले ३ तथा भुवन कार्कीले २ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको नारायणीले २० ओभरमा १ सय ४३ रन बनाएको थियो । उत्कृष्ट सुरुवात गरेको राप्तीको लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रनको आक्रामक पाली खेले ।
यस्तै, बिनोद भण्डारीले ३२, अमित श्रेष्ठले १७ र शरद भेषवाकरले १० रन बनाए ।
नारायणीका शाहाब आलमले ३, सुशन भारीले २ र कप्तान करन केसीले १ विकेट हात पारे ।
तीन टिम सहभागी प्रतियोगिता बागमती प्रदेश क्रिकेट संघले आयोजना गरेको थियो । लामो समयदेखि क्रिकेट ठप्प रहेको कारण क्रिकेट चलायमान बनाउन प्रदेश क्रिकेट संघले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतिक्रिया