कपिलवस्तु ।
प्रदेश १, कर्णाली र सुदूरपश्चिमबाहेक प्रदेशमा यही वर्ष सबै जनताको घरमा बिजुली पुग्ने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बताएका छन् ।
अहिले ९२ प्रतिशत नेपाली जनताले विद्युत सेवा पाएका र बाँकी ८ प्रतिशतको घरमा दुई वर्षमा विद्युत पहुँच पुग्ने गरी सरकारले काम गरेको उनले दाबी गरे । ‘अब बत्ती बाल्ने मात्र होइन, हिटर, इन्डक्सन, टिभी फ्रिजसमेत चल्ने गरी विद्युत् आउनेछ।’
नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार अन्तर्गत महाराजगन्ज सब स्टेसनको आइतबार उद्घाटन गर्दै मन्त्री पुनले भने, ‘कोभिडका कारण कृषिमा रोजगारीको अवसर बढाउन सरकारले सिँचाइमा प्राथमिकता दिएको छ । संघीय सरकारका तर्फबाट ५ हजार स्यालो ट्युबबेल, २५० भन्दा बढी डिप बेलका योजना संचालन भएका छन् । ती योजना सिँचाइको सुविधा नभएका क्षेत्रका प्राथमिकतामा पर्नेछन् । कपिलवस्तु कृषि उत्पादन धेरै हुने जिल्ला भए पनि सिँचाइ सुविधामा पछि परेको उनको भनाइ थियो ।
उनले थपे, ‘यहाँ राप्ती – सुराई डाइभर्सनबाट ४१ हजार हेक्टर भूमि सिँचाइ हुने गरी अध्ययन भएको छ । ८ किमी सुरुङ मार्ग हुँदै राप्तीको पानी नौमुरेमा ड्याम्प बनाइ कपिलवस्तुको सुराई लगिनेछ ।’
कार्यक्रममा संघीय सांसद बृजेश कुमार गुप्ताले सब–स्टेसन निर्माणपछि विद्युतका समस्याबाट मुक्त भएको बताएका छन् । कपिलवस्तु नदीका कारण कटान बढेको उनले बताए । जनता तटबन्ध कार्यक्रम संचालन घोषणा भए पनि सुरुवात नुहँदा हुन नसकेको भन्दै उनले तत्कालै सञ्चालनको मागसमेत गरे । सिँचाइको समस्या दीर्घकालीन रुपमा हटाउन पनि राप्ती सुराई–डाइभर्सनका योजना कार्यान्वयन हुनुपर्नेमा गुप्ताले जोड दिए ।
एसियाली विकास बैंक र नेपाल सरकारको संयुक्त लगानीमा देशभरमा सबस्टेसन निर्माणका क्रममा छन् । कपिलवस्तुका बुद्धभूमि र शुद्धोधन गाउँपालिकामा समेत ३३/११ केभिए का २ सब स्टेशन निर्माणको अन्तिम चरणमा रहेका आयोजना प्रमुख बोधराज ढकालले बताए ।
महाराजगन्जमा निर्माण भएको सब स्टेशन १३ करोडको लागतमा निर्माण भएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास समिति सभापति दीर्घ नारायण पाण्डे, नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश प्रादेशिक कार्यालयका निमित्त प्रमुख सुरज गौतम, निर्माण कम्पनी त्रिपुरेश्वर–जयदुर्गे जेभी.प्रबन्ध निर्देशक पदम पदम प्रसाद लुइँटेलले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया