१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

चुनावमा भूमिहिनलाई लालपूर्जा दिन्छौं भनेको सय प्रतिशत दिने भयौ, असाध्यै खुसी छुः मेयर अधिकारी



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीले अब तत्काल लालपूर्जा पाउने बताउनुभएको छ । केन्द्र सरकारद्धारा गठित भूमि सम्बन्धि समस्या समाधान आयोगसंग आइतबार बुटवलमा लालपूर्जा दिलाउने सम्बन्धि एक सम्झौता पत्रमा हस्ताक्षर गरेपछि मायादेवी अनलाइनसंग छोटो प्रतिक्रिया दिदै मेयर अधिकारीले आज भएको सम्झौताले आफु असाध्यै खुसी भएको बताउनुभयो ।

तत्कालिन एमालेबाट स्थानीय तहको चुनावमा उठ्दा आफुहरुले जिते भूमिहिनलाई लालपूर्जा बाड्छौं भनेर जनतासामु बचन दिएको स्मरण गर्दै पछिल्लो बामगठबन्धनले पनि संघ र प्रदेशको चुनावमा यही नारालाई साझा बनाएर चुनाव लडेको चर्चा गर्नुभयो । चुनावी घोषणापत्रमा नै यो विषय मुख्य प्राथमिकतामा राखिएको स्मरण गर्दै उहाँले नेकपा सरकारले अब सबै भूमिहिन जनतालाई लालपूर्जा बाड्ने बताउनुभयो ।

आज प्रदेश नं. ५ का ३३ स्थानीय तहले आयोगसंग सम्झौता गरेको भन्दै उहाँले अब यही आव भित्र सबै काम सकाएर लालपूर्जाका लागि केन्द्रमा पठाउने बताउनुभयो । भोलिदेखि नै आफु यो काम गर्न फिल्डमा खटिने भन्दै मेयर अधिकारीले अब भूमिहिन जनताले १ सय प्रतिशत लालपूर्जा पाउने दाबी गर्नुभयो । आजको सम्झौताले आफुहरुलाई थप उर्जा थपेको पनि उहाँले प्रतिकृया दिनुभएको छ ।

सरकारले देशभर भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएका नागरिकलाई लालपूर्जा दिनका लागि आयोग गठन गरेको छ । जस अन्तर्गत पहिलो चरणमा देशका १ सय स्थानीय तहमा यो कामको शुरुवात भएको छ । चालु आवमा यो काम सुरुवात गर्ने स्थानीय तहले भूमि सम्बन्धि सबै काम पूरा गर्नेछन् । सरकारले जग्गा प्राप्तीका लागि कानुन बनाएको छ । सोही कानुन अनुसार स्थानीय तहले अब काम थाल्ने छन् ।

कपिलवस्तुका ६ स्थानीय तहमा यो कार्यक्रम लागु भएको छ । जिल्लाको शिवराज, कृष्णनगर, वाणगंगा, बुद्धभूमि नगरपालिका र विजयनगर, शुद्धोधन गाउँपालिकामा यो कार्यक्रम सुरु हुने छ ।
आइतबार ६ वटै स्थानीय तहका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले आयोगसंग सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रकाशित मिति : २८ मंसिर २०७७ आइतबार ००:००  ९ : ११ बजे