१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

तिलोत्तमामा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा



रुपन्देही ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीलाई नगरको समग्र अवस्थाको बारेमा जानकारी गराउने गरी निर्माण गरिएको पाठ्यक्रम चालू शैक्षिक सत्रबाट कार्यान्वयनमा आएको हो ।

नगरपालिकाका शिक्षा उप-सचिव गंगाराम आचार्यले नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो । तिलोत्तमामा हाल ८५ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरु छन् ।

आचार्यका अनुसार पहिलो चरणमा कक्षा १ देखि ५ सम्म एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम कार्यान्वयनमा आएको हो । दोस्रो चरणमा कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गर्ने नगरपालिकाको तयारी छ । पाठ्यक्रममा नगरको भुगोल, कला, संस्कृति, भाषा, धर्म, स्वास्थ्य, सरसफाई, पर्यावरण, पेशा–व्यवसाय, शिक्षा, सामाजिक संघ–संस्थालगायतका विषय समेटिएको छ ।

स्थानीय पाठ्यक्रम क्रियाकलापमा आधारित रहेकोले यो विद्यार्थीका लागि रुचीकर रहने पाठ्यक्रम निर्माण समिति संयोजक दामोदर भुसालले बताउनुभयो । स्थानीय पाठ्यक्रममा सरसफाईसँग सम्बन्धित ‘मेरो खल्ती- मेरो पहिलो डष्टबिन’ को अवधारणलाई पनि समेटिएको छ । पूर्णसरसफाई उन्मूख तिलोत्तमा नगरपालिकाले सरसफाईको व्यवहारिक ज्ञान विद्यार्थीलाई कक्षा १ बाट नैं दिनेगरी त्यसलाई पाठ्यक्रममा समेटको हो ।

विद्यालयहरुले स्थानीय पाठ्यक्रम प्रयोगात्मक शैलीमा अध्यापन गराउनुहुनेछ । पाठ्यक्रम निर्माणका लागि नगरपालिकाले गठन गरेको समितिले जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका अगुवा, शिक्षाविद्लगायतको सुझावको आधारमा स्थानीय पाठ्यक्रम निर्माण गरेको हो ।

प्रकाशित मिति : २७ मंसिर २०७७ शनिबार ००:००  ७ : ०५ बजे