मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाकै जेठो सहकारी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा ४ कपिलवस्तुको २२ औं वार्षिक साधारण सभा शुक्रबार सहकारीको सभाहल सिद्धिपुरमा सम्पन्न भएको छ ।
गरिब विपन्नको घर आगनको सहज रुपमा सेवा प्रवाह गर्ने वैंकको रुपमा सिद्धार्थ सहकारी स्थापित भएको कार्यक्रमका प्रमुख अतिथी प्रदेश सहकारी संघका सदस्य तेज प्रसाद आचार्यले बताउनुभयो ।
उहाँले यस सहकारीले ग्रामिण महिलाहरुको आर्थिक हैसियतमा धेरै सुधारका काम गरेकाले यसलाई अझ व्यवसायमुखी बनाएर बचत बृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा लेखा सुपरिवेक्षण समिति संयोजक कविराज भुसालले संस्थाको आन्तरिक लेखा व्यवस्थापनबारे सुझाव दिदै लक्ष्य गरेका कार्यक्रम र आर्थिक प्रगती योजना गरे अनुसार नभएकाले लक्ष्यपुग्ने गरी कार्य गर्न सुझाव दिनुभएको थियो ।
सहकारीको वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव देवकला सुवेदीले प्रस्तुत गर्दै लक्षित कार्यक्रमहरु मध्ये ८५ प्रतिशत प्रगति भएको बताउनुभयो । कोभिड–१९ का कारण लक्ष्य अनुसारको शत प्रतिशत सफलता हासिल हुन नसकेको प्रतिवेदनमा औल्याइएको छ । सहकारीको आगामी कार्यक्रम र वजेट बारे सहकारीका कोषाध्यक्ष प्रकाश घिमिरेले प्रस्तुत गर्नुभएको थियो ।
सहकारीको वार्षिक लेखा परीक्षण प्रतिवेदन व्यवस्थापक हरिलाल शर्माले प्रस्तुत गर्दै आ.ब. २०७६।०७७ को १७ करोडको आर्थिक स्थिति विवरण पेश गर्नुभएको थियो । सहकारी संस्थालाई एउटा पहिचान योग्य बनाउन आवश्यक रहेको बताउदै सहकारीमा स्वावलम्वी र पारस्परिकता नभएमा सहकारी संस्था फलदायी नहुने अतिथीहरुले बताएका थिए ।
त्यसैगरी सामाजिक अभियन्ता टंक प्रसाद आचार्यले खाली बचत मात्रै होइन हामीहरु सदस्यबीच आपसी सम्वन्ध कायम राख्दै अन्य व्यवसाय उद्यम मार्फत हामी आफैले उत्पादन गरी प्रयोगमा ल्याउने वातावरण सृजना गर्न तर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो ।
संस्थाले यस आवमा सदस्यहरुलाई पारिवारीक योजना तयगरी लक्ष्यमा आधारित रहेर बचत गर्ने बानीको विकास गर्नमा जोड दिन उत्पादनमुखि कार्य गर्न सदस्यहरुलाई विभिन्न कार्यक्रमहरु तय गरी यस वर्षमा झण्डै २२ करोडको योजना तय गरेको सहकारीले जनाएको छ । सदस्यहरुलाई आगामी वर्षमा शेयर लाभांसलाई ऐनले तोके अनुसार नै व्यवस्था गर्ने गरी काम गर्ने भएको छ ।
सहकारीकी अध्यक्ष सूर्यकुमारी शाहीको अध्यक्षतामा सम्पन्न साधारण सभा सचिव देवकला सुवेदीको संचालन, स्वागत उपाध्यक्ष इन्दिरा भट्टराईले गर्नुभएको थियो ।
प्रतिक्रिया