१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सिद्धार्थ सामाजिक विकास केन्द्रको २४ औंं साधारण सभा सम्पन्न



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा क्षेत्रमा रहेको सिद्धार्थ सामाजिक विकास केन्द्रले मानव अधिकार, लोकतन्त्र र सामाजिक न्यायको क्षेत्रमा उल्लेख्य काम गरेको एक कार्यक्रमका सहभागीले बताएका छन् । संस्थाको चारनम्बरमा शनिबार सम्पन्न २४ औं वार्षिक साधारण सभामा बोल्ने सहभागीहरुले उक्त कुरा बताएका हुन् ।

सामाजिक रुपान्तरणमा लामो समयदेखि कृयाशिल रहेको संस्थाले मानव अधिकारको संरक्षण, शिक्षा, स्वास्थ्य, रोजगारी, युवा, किशोर किशोरी लक्षित कार्यक्रम तथा कोभिड–१९ मा सहयोग पुराएर प्रदेश स्तरमै उल्लेखनीय काम गरेको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी संस्थापक टंक प्रसाद आचार्यले संस्थालाई दिगो रुपमा संचालन गर्न आफनो छु्ट्टै कोष बनाएर सामाजिक सवालहरुमा थप काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले संस्था स्थापनाकाल देखि हालसम्म आइपुग्दा संस्थाले गरेका कामहरुलाई नजिकबाट नियालेको बताउदै अव संस्थालाई दिगो रुपमा संचालन गर्न स्थानीय श्रोत साधनको उपयोग गरेर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले संस्था स्थापनाको २५ वर्षलाई रजत वर्षको रुपमा मनाउदै आवद्ध सदस्य कर्मचारीलाई सामाजिक सवालमा अग्रपक्तिमा रहेर काम गर्न सुझाव दिनुभयो ।

त्यस्तै संस्थाका पूर्व अध्यक्ष टिकाराम पौडेलले विभिन्न परिस्थितीलाई सामना गर्दै सामाजिक रुपान्तरणको क्षेत्रमा एकढिक्का भएर संस्था अघि बढिरहेको बताउनुभयो । उहाँले खानेपानी सरसफाई र खेलकुदबाट शुरु गरेको संस्थाले अवका नया सवालहरुलाई काम गर्दै जानुपर्ने बताउनुभयो ।

संस्थाका पूर्व अध्यक्ष पोमनारायण पौडेलले कपिलवस्तु जिल्लामै सामाजिक सवालहरुलाई अगुवाई गर्दै आइरहेको संस्थाले नमुनाको रुपमा संस्थाका गतिविधी बढाउनुपर्ने बताउनुभयो । कपिलवस्तुमा सामुदायिक अस्पताल र सहकारीको अवधारणा पहिलो पटक संस्थाले शुरुवात गरेकाले यसलाई व्यवस्थित बनाउनु पनि हाम्रो दायित्व भएको बताउनुभयो ।

संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यले संस्थाका सदस्यहरुले स्थानीय स्तरमा धेरै सामाजिक क्षेत्रको अगुवाई गरिरहेकोले वदलिदो परिवेश अनुसार नया नयाँ सवालहरुमा थप कार्यक्रमहरु विस्तार गर्दै लैजाने बताउनुभयो ।

संस्थाका सचिव रोमकान्त घिमिरेले प्रगति प्रतिवेदन पेश गर्दै आगामी ५ वर्षका लागि शिक्षा र बालअधिकार, दिगो जीविकोपार्जन, स्वास्थ्य अधिकार, सुशासन र मानव अधिकारका सवाललाई प्राथमिकतामा राखेको बताउनुभयो ।

त्यस्तै संस्थाका कोषाध्यक्ष हरिलाल शर्माले आ.ब. २०७७।०७८ का लागि ६ करोड बराबरको प्रस्तावित कार्यक्रम बजेट पेश गर्नुभएको छ । साधारण सभामा आन्तरिक लेखा उपसमितिका संयोजक शोभा आर्चाले सुझाव सहितको लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारण सभामा सिद्धार्थ क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द खनाल, महिला अधिकारकर्मी रुकैया खातुन लगाएतले शुभकामना दिनुभएको छ । कार्यक्रम संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यको अध्यक्षता, उपाध्यक्ष सूर्यकुमारी शाहीको स्वागत तथा सचिव रोमकान्त घिमिरेको संचालनमा सम्पन्न भएको थियो । सभाले ११ बुँदे समसामयिक प्रस्तावहरु समेत पारित गरेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७ शनिबार ००:००  १ : २६ बजे