मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु सर्पदंश उपचार केन्द्रको अध्यक्षमा सुरज प्रताप राणा निर्वाचित हुनुभएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा रहेको केन्द्रमा राणाको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरिएको हो ।
शनिबार सम्पन्न भएको अधिवेशनबाट केन्द्रको उपाध्यक्षमा उत्तममणी पौड़ेल, सचिवमा माधव प्रसाद पौडेल, कोषाध्यक्षमा लक्ष्मी शर्मा न्यौपाने र अन्य सदस्यहरुमा रहनुभएको छ ।
नवनिर्वाचित समितिलाई बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले सफल कार्यकालको शुभकामना दिनुभएको छ ।
सर्पदंश उपचार केन्द्रलाई पश्चिम नेपालमै उत्कृष्ट अस्पताल बनाउने अभियानमा सबैको साथ र सहयोग रहनुपर्नेमा नगर प्रमुख श्रेष्ठले जोड दिनुभयो । सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा रहेको कारण बुद्धभूमि नगरपालिकाको मात्र नभई कपिलवस्तुका सबै स्थानीय तहदेखि अर्घाखाँची, प्यूठान, रोल्पा, दाङ लगायत भारतको उत्तर प्रदेशसम्मका नागरिकको रहेको बताउनुभयो ।
उपचार केन्द्रलाई अझै व्यवस्थित बनाउने योजना रहेको सुनाउँदै उहाँले अस्पतालमा चाहिने आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरिने बताउनुभयो ।
लामो समय केन्द्रको अध्यक्ष रहनुभएका निलकुमार श्रेष्ठले सबैको साथ र सहयोगको कारण सर्पदंश उपचार केन्द्र आज यहाँसम्म आएको बताउनुभयो । सबैको सहयोगले केन्द्रको भवन निर्माण गरिएको भन्दै अब बाँकी गुणस्तरीय उपचारमा जोड दिनुपर्ने बताउनुभयो ।
कपिलवस्तु सर्पदंश उपचार केन्द्र पश्चिम नेपालको सबैभन्दा पहिलो र पुरानो केन्द्र हो । गोरुसिंगेमा अवस्थित नेपाली सेनाको सहयोगमा निर्माण भएको केन्द्रमा बर्षेनी सयौं सर्पले टोकेका विरामी आउने गरेका छन् ।
नेपाली सेनाको प्रत्यक्ष संलग्नतामा उपचार हुँदै आएको यहाँ स्थानीय सरकार बनेदेखि बुद्धभूमि नगरपालिको लगानीमा कर्मचारी नियुक्त गरी उपचार सेवा दिइदै आइएको छ ।
प्रतिक्रिया