१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सुरक्षा फौजको ठहरः विप्लव समूह चन्दा असुलीसहित संघर्ष’ को दोस्रो चरणमा छ



काठमाडौं । मुलुकका चारवटै सुरक्षा फौजले प्रतिबन्धित विप्लव समूहले ‘संघर्ष’ को दोस्रो चरणमा प्रवेश गर्ने तयारी गरिरहेको निष्कर्ष निकालेको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले सरकारलाई गरेको सुरक्षा ब्रिफिङमा प्रतिबन्धित समूह हिंसात्मक गतिविधितर्फ लागेर सरकारप्रति दबाव सिर्जना गर्न उन्मुख भएको भनिएको हो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आन्तरिक किचलोमा सरकारसमेत अल्झिइरहेका बेला विप्लव समूहले उपस्थिति देखाउन खोजेको सुरक्षा संयन्त्रको विश्लेषण छ । मोरङको मिक्लाजुङमा मंगलबार बिहान प्रतिबन्धित समूहले माओवादी द्वन्द्वकालको स्मरण गराउने गरी निहत्था नागरिकको हत्या गरेपछि समूहप्रति निगरानी बढाएर आक्रमक अपरेशन चलाउन सरकारले निर्देशन दिइसकेको छ ।

त्यसअघि भएको ब्रिफिङमा समूहले हाल सडकमा असन्तुष्ट पक्षसँग समेत सहकार्य गरेर सरकारमाथि दबाव बढाउन सक्नेसमेत विश्लेषण गरिएको छ । ‘सडकमा निस्किइरहेका राजावादी पक्ष वा अन्य विरोधी तत्वसँग पनि सहकार्य गरेर समूहले दबाव बढाउने रणनीति पनि लिन सक्छ’, गृह मन्त्रालय उच्च स्रोतले भन्यो, ‘सडक र जंगल दुवैतिरबाट समूहले गतिविधि बढाउन खोजेको देखिएको सुरक्षा निकायको भनाइ छ ।’

मोरङ घटना पछाडि सरकारलाई त्रासमा पारेर वार्तामा बोलाउन दबाव दिने उद्देश्यसमेत भएको एक निकायको विश्लेषण छ । समूहले मोरङ घटनाको जिम्मेवारी लिँदै आफूहरुविरुद्ध सुराकी गरेकाले सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न खोजेपछि शिक्षक राजेन्द्र श्रेष्ठको ज्यान गएको भनेको छ ।

तर, श्रेष्ठका छिमेकीहरुले उनलाई घरबाटै हात बाँधेर लगेको देखेको बयान दिएकाले समूहको दाबी सहजै खण्डन हुने प्रहरीको भनाइ छ

प्रकाशित मिति : २७ मंसिर २०७७ शनिबार ००:००  ७ : ५३ बजे