१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

श्री विनायक सहकारी संस्था लिमिटेडको ७ औं साधारणसभा सकियो



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगामा अवस्थित श्री विनायक सहकारी संस्था लिमिटेडको ७ औं बार्षिक साधारणसभा शुक्रबार भएको छ ।

कोभिड–१९ को कारण सरकारबाट जारी स्वास्थ्य मापदण्ड अपनाएर सम्पन्न गरिएको साधारणसभामा अध्यक्ष रामप्रसाद गैरे, सचिव खिमानन्द पौडेल कोषाध्यक्ष विष्णु प्रसाद न्यौपानेद्धारा प्रस्तुत प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ ।

कोभिड–१९ को जोखिमले गर्दा सहकारीले आफ्ना शेयर सदस्यका लागि साधारणसभामा प्रस्तुत हुने विषयको यस भन्दा अगाडी नै जानकारी दिएर आवश्यक सुझाव माग गरेको थियो । गत कार्तिक १९ गते बसेको सञ्चालक समितिले प्रत्येक शेयर सदस्यलाई साधारणसभामा प्रस्तुत हुने विषयबस्तु पढ्न दिने र केही सुझाव भए माग गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम शेयर सदस्यबाट प्राप्त सुझावको आधारमा शुक्रबार साधारणसभा सम्पन्न गरिएको अध्यक्ष रामप्रसाद गैरेले जानकारी दिनुभयो ।

सहकारीका सचिव खिमानन्द पौडेलले आगामी बार्षिक कार्यक्रमको रुपरेखा, नितिगत कार्ययोजना, व्यवस्थापकीय कार्ययोजना, लगानी सम्बन्धि कार्ययोजना साधारणसभामा प्रस्तुत गर्नुभएको थियो ।

यस्तै कोषाध्यक्ष विष्णु प्रसाद न्यौपाने, लेखा समितिका संयोजक नन्दकिशोर शुक्ल, ऋण उप समितिका संयोजक मुक्तिराम कंडेलले आ आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

वाणगंगा–१ ठाकुरापुरमा रहेको विनायकको कार्यालयलाई यो बर्ष देखि वाणगंगा ४ चारनम्बरमा सारिएको छ भने बचत तथा ऋण परिचालन नीति २०७३ लाई संसोधन गरी आर्थिक प्रशासन नियमावली २०७७ बनाइएको छ । यो साधारणसभाबाट केही विनियमका बुँदा संसोधन गरिएको अध्यक्ष गैरेले जानकारी दिनुभयो ।

साधारणसभामा संविधानसभा सदस्य डोर प्रसाद उपाध्याय, राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक सदस्य ईश्वरी प्रसाद पाण्डे, वाणगंगा नगरपालिकाका नगर उप प्रमुख चक्रपाणी अर्याल, लुम्बिनी प्रदेश सहकारी संघका सदस्य तेजप्रसाद आचार्य लगायतले बोल्दै ग्रामिणस्तरमा खोलिएका सहकारीले समृद्धिको यात्रामा महत्वपूर्ण काम गरिरहेको चर्चा गर्नुभएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७७ शुक्रबार ००:००  ५ : १३ बजे