नवलपरासी ।
ट्र्याक्टर चालकको ज्यान गएपछि स्थानीयको प्रदर्शनका कारण अवरुद्ध बनेको पूर्व पश्चिम राजमार्ग पूर्ण रुपमा संचालनमा आएको छ ।
नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको दुम्किबासमा गएराति चालकको ज्यान गएपछि स्थानीयले प्रदर्शन गर्दा दुम्किबासको अवस्था तनावग्रस्त बनेको थियो ।
प्रहरीको कुटाइबाट लु ३ त ८१७५ नम्बरको ट्र्याक्टर चालक दाङ राजापुर गाउँपालिका ४ का हरिश्याम यादवको ज्यान गएको भन्दै स्थानीय बासिन्दाले प्रदर्शन गरेका हुन् । विनयी त्रिवेणी २ को पहेली भित्ता भन्ने ठाउँको विनयी खोलामा भएको घटनालाई लिएर स्थानीय बासिन्दाले अहिले प्रहरी कार्यालयसमेत घेराउ गरेर राजमार्ग बन्द गराएका थिए ।
प्रहरीले भने नदिजन्य पदार्थ अवैध रुपमा निकाल्दै गरेको समयमा ट्र्याक्टरसहित भाग्ने क्रममा दुर्घटनामा परेर उनको ज्यान गएको जनाएको छ । घटनाको विषयलाई लिएर प्रहरी र स्थानीय बासिन्दाबीच झडपसमेत भएको थियो । प्रहरीले भीडलाई नियन्त्रणमा लिन १३ राउण्ड अश्रु ग्यास प्रहार गरको थियो ।
अहिले प्रर्दशनकारीलाई प्रहरीले हटाएर राजमार्ग खुलाएको छ । स्थानीयले घटनाको छानबिनको माग राखेका छन् । मृतक यादवको शव भरतपुरमा रहेको छ । शवको पोष्टमार्टम गरिने र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने इलाका प्रहरी कार्यालय दुम्किबासका प्रमुख प्रहरी निरीक्षक विकास बमले बताउनुभयो ।
स्थानीयले घटनाको छानबिन गरी मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिने प्रतिबद्धता नआए फेरि आन्दोलन गर्ने बताएका छन् ।
प्रतिक्रिया