मायादेवी अनलाइन, वाणगंगा ।
सरकारले बैज्ञानिक बन व्यवस्थापनको काम रोकि राखेको बेला कपिलवस्तुबाट यो रोक्न नहुने धारणा सार्वजनिक भएको छ । रोकिएको बैज्ञानिक बन व्यवस्थापनको काम पुनः सुचारु गर्नुपर्ने भन्दै जिल्ला भित्र रहेका सामुदायिक बनहरुको एक भेलाले कपिलवस्तु बैज्ञानिक बन व्यवस्थापन सञ्जाल गठन गरेको छ ।
हालै गठन भएको सञ्जालको विहीबार चन्द्रौटामा बसेको बैठकले चरणबद्ध दबाब मलुक कार्यक्रम सार्वजनिक गरेको छ ।
बैठकले यही मंसीर २८ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, लुम्बिनी प्रदेशको बन मन्त्रालय, डिभिजन बन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको सञ्जालकी संयोजक रेनु सेनले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
यस्तै पुस ३ गते बैज्ञानिक बन व्यवस्थापनबारे सञ्जालले आधिकारीक प्रेस विज्ञप्ति जारी गर्ने निर्णय भएको संयोजक सेनले बताउनुभयो ।
सरकार आफैले लागु गरेको बैज्ञानिक बन व्यवस्थापनलाई अहिले खारेज गर्नुपर्ने पक्षमा देखिन थालेको छ । सुदुर पश्चिमको एक सामुदायिक बनमा तोकिएको काठ भन्दा बढी काटेको घटना सार्वजनिक भए लगत्तै सरकारले बैज्ञानिक बन व्यवस्थापनको काम देशभर रोेकेको हो ।
एकाएक लागु भएको कार्यक्रम रोकिदा जंगलमा काठ कुहिन थालेका छन् भने रेखदेख गर्न नसक्दा चोरी हुने खतरा बढेको छ । बैज्ञानिक बन व्यवस्थापन अन्तर्गत बन संरक्षणका लागि खटिदै आएका कर्मचारीलाई पनि बनहरुले तलव दिन सकेका छैनन् । बनको सबै काम रोकिदा बनहरुमा आर्थिक मन्दी छाउदा यस्तो समस्या आएको हो ।
सरकारले कुनै एक बनको कारण सिंगो कार्यक्रम रोकेर नजायज काम गरेको भन्दै कपिलवस्तुमा बैज्ञानिक बन व्यवस्थापन लागु भएका सामुदायिक बनहरुको भेलाले सञ्जाल गठन गरेर चरणबद्ध कार्यक्रम घोषणा गरेको हो ।
सञ्जालकी अध्यक्ष रेनु सेनको अध्यक्षतामा भएको कार्यक्रममा तिलौराकोट साझेदारी बनका अध्यक्ष जय प्रकाश पाण्डे, मायादेवी साझेदारी बनका अध्यक्ष अजिज खाँ, कपिलवस्तु साझेदारी बनका अध्यक्ष गंगेश तिवारी, गौतमबुद्ध साझेदारी बनका अध्यक्ष जानकी यादव लगायतको उपस्थिती रहेको थियो ।
सञ्जालका सह संयोजक शेषकान्त बेल्वासेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव सुर्य बहादुर मल्लले गर्नुभएको थियो । बैठकमा १६ सामुदायिक बनका प्रतिनिधिको उपस्थिती रहेको जनाइएको छ ।
प्रतिक्रिया