दाङ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंका मिडियाले निराशा मात्रै बाँडेको दाबी गरेको भन्दै त्यसबाट भ्रमित नहुन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
बिहीबार दाङको पातुखोलामा पुलको सिलन्यास गर्दै मुख्यमन्त्री पोखरेलले अहिलेको सरकारले विकास निर्माणका काम तीव्र रुपमा गरिरहेको भए पनि काठमाडौंमा रेडियो, टिभीले निराशा मात्रै बाँडेको दाबी गरेका हुन् । यसअघि पनि मुख्यमन्त्री पोखरेल जहाँ पुगे पनि चर्को रुपमा मिडियाको आलोचना गर्दै आएका छन् ।
मुख्यमन्त्री पोखरेलले पश्चिम दाङको विकासका साथै समग्र प्रदेशको विकासले गति लिन थालेको बताए ।
दाङको देउखुरीमा राजधानी आयो र पश्चिम दाङ विकासका दृष्टिकोणले पछि पर्छ कि भनेर चिन्ता नगर्न उनले आग्रह गरे।
पश्चिम दाङको सबैभन्दा विकट क्षेत्र भनेको गंगटे रहेको भन्दै पोखरेलले त्यहाँ पनि सडक निर्माणका लागि टेण्डर भइसकेको जानकारी दिए। गंगटेको सबै ठाउँमा हालसम्म पनि बिजुली, सञ्चार र सडकको सुविधा पुगिसकेको छैन।
उनले एउटा मात्रै जिल्ला विकासबाट पछाडि प¥यो भने समग्र प्रदेशको विकासमा अवरोध सिर्जना हुने हुँदा सबै जिल्लाको विकास समान रुपमा गरिने आश्वासन दिए।मुख्यमन्त्री पोखरेलले संघीय सरकारको अनुदानमा पातुखोलामा रहेको अटोभिलेज जोड्ने पुल पनि निर्माण हुने गरी बजेट आइसकेको जानकारी दिए।
नयाँ बन्ने पुलसँगै पातुखोलामा पनि चार वटा पुल पुग्ने भन्दै उनले ती बनेपछि पश्चिम दाङको विकासमा थप टेवा पुग्ने बताए।
प्रतिक्रिया