१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुमा लैंगिक हिंसा बिरुद्ध सरोकारवालाद्धारा सामुहिक हस्ताक्षर



मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुमा लैंगिक हिंसा नगर्ने र हुन पनि नदिने भन्दै सरोकारवालाले हस्ताक्षर गरेका छन् । बिहीबार वाणगंगा नगरपालिकामा आयोजित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अवसरमा यसक्षेत्रका जनप्रतिनिधी, अधिकारकर्मी तथा विभिन्न राजनैतिक दलका प्रतिनिधीले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका उप–प्रमुख तारावती चौधरीले अझैपनि समाजमा लैंगिक हिंसा न्यूनिकरण हुन नसकेको बताउनुभयो । उहाँले ब्यक्तीको सोच तथा ब्यवहारमा परिवर्तन नआउँदासम्म यस प्रकारका हिंसाहरु अन्त्य नहुने भन्दै त्यसको लागि सबैले आफ्नो सोच बदल्नुपर्नेमा जोड दिनुभयो ।

उप–प्रमुख थारुले घरपरिवारमै पनि विभेदको ठुलो खाडल रहेको भन्दै त्यसलाई चिर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो । यस्तै नगरपालिकाका उपमेयर चक्र अर्यालले नेपालको संबिधान विश्वमै उत्कृष्ट भएको भन्दै यसको कार्यन्वयन तर्फ लाग्नुपर्ने बताउनुभयो । कार्यक्रमका अध्यक्ष समेत रहनुभएका उप–प्रमुख अर्यालले संबिधानमा भएका ऐन कानुनको पालना सबैले गरे लैंगिक हिंसा स्वत अन्त्य हुने बताउनुभयो ।

कार्यक्रममा नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाई, जेष्ठ नागरिक समाज वाणगंगाका भेषराज कुँवर, नेपाल कृषक श्रमिक संघको केन्द्रिय सदस्य विमला गैरे लगाएतले बोल्दै पुरुष तथा महिला दुबैले एकअर्कालाई सम्मान गर्नुपर्ने बताउनुभयो ।

समाजमा पछिल्लो समय पुरुष माथि पनि विभिन्न हिंसाका घटना भएको भन्दै यस तर्फपनि सरोकारवालाको ध्यान जानुपर्नेमा जोड दिनुभयो । कार्यक्रम वडा नम्बर एकका वडा अध्यक्ष बालकुमारी पन्त अधिकारीको स्वागत, उप–मेयर चक्र अर्यालको अध्यक्षता तथा महिला तथा बालबालिका शाखा प्रमुख सुशिला पन्तको संचालनमा सम्पन्न भएको हो ।

यस्तै सोही कार्यक्रममा इलाका प्रहरी कार्यालय पिपराले सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । इलाका प्रहरी कार्यलय पिपराको आयोजना र वाणगंगा नगरपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा सार्वजनिक स्थान र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य हिंसाको पिपराका इन्सपेक्टर दिनेश गुरुङले जानकारी गराउनुभएको थियो ।

साथै उहाँले यौनजन्य हिंसा र त्यसबारे कानुनी ब्यवस्थाकोबारे जानकारी गराउनुभएको थियो । प्रहरीको एकल प्रयासले मात्र यस्ता घटना न्यूनिकरण नहुने भन्दै सबै सरोकारवाला मिलेर यस्ता घटना न्यूनिकरणमा लाग्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २५ मंसिर २०७७ बिहिबार ००:००  ५ : ३४ बजे