मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुमा मुख्य कार्यलय रहेको लुम्बिनी प्रदेशको सुपरिचित गैरसरकारी संस्था सिद्धार्थ सामाजिक विकास केन्द्रको बार्षिक सामाजिक लेखा परिक्षण भएको छ ।
सिद्धार्थले सुशासन र पारदर्शी कायम गर्न भन्दै हरेक बर्ष आफ्नो बार्षिक सामाजिक लेखा परिक्षण गर्दै आएको छ ।
वाणगंगाको पिस हिमालय रिसोर्टमा विहीबार भएको उक्त कार्यक्रममा सिद्धार्थले एक बर्षभर आफुले गरेका र आगामी दिनमा गर्न बाँकी कामहरुको बारेमा जानकारी गराएको थियो ।
लुम्बिनी प्रदेश सांसद विष्णु पन्थी, नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेल, नेपाली कांग्रेसका प्रतिनिधि रवि बहादुर काफ्ले, वडा नं. ११ का वडाध्यक्ष सोमनाथ अर्याल लगायतको उपस्थिती रहेको कार्यक्रममा सिद्धार्थले सामाजिक क्षेत्रमा गरेका कामहरुको जानकारी गराइएको हो ।
विभिन्न दातृ निकाय र सरकारी निकायका गरी झण्डै एक दर्जन कार्यक्रम सञ्चालन भैरहेको सिद्धार्थमा कोभिड १९ को विषम परिस्थितीमा पनि सबै काम पूरा गरेर प्रदेशमै आफुलाई अब्बल गराउन सफल भएको सहभागी अतिथिले प्रतिक्रिया दिएका छन् ।
प्रदेश सांसद विष्णु पन्थीले सिद्धार्थ लुम्बिनी प्रदेशमै उत्कृष्ट गैरसरकारी संस्था रहेको चर्चा गर्दै आगामी दिनमा आफु सक्दो सहयोग रहने आश्वासन दिनुभयो । देशको सामाजिक र आर्थिक क्षेत्रमा गैरसरकारी संघ संस्थाको योगदान महत्वपूर्ण रहदै आएको बताउँदै सांसद पन्थीले एनजिओ अब हटाउनुपर्छ भन्ने धारणा बनाउन नहुने बताउनुभयो । एनजिओले गर्नेे काम पारदर्शी हुनु पर्ने भन्दै उहाँले राज्यले निर्देशित गरेका ऐन, नियम र कानुनको अधिनमा रहनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समिति कपिलवस्तुकी उप प्रमुख तारावती चौधरीले गैरसरकारी संस्थाले महिला, बालबालिका, जेष्ठ नागरिकको क्षेत्रमा उलेख्य काम गरिरहेको बताउनुभयो । सिद्धार्थले गरिब तथा विपन्नको क्षेत्रमा राम्रो काम गरेको भन्दै आगामी दिनमा पनि यो बर्ग र समुदायको लागि काम गर्नेमा आफु आशाबादी रहेको उहाँले बताउनुभयो ।
नेकपा कपिलवस्तु अध्यक्ष झविलाल पोख्रेलले कोभिड-१९ को महामारीका बीच पनि संस्थाका कर्मचारीले उल्लेख्य काम गरेको भन्दै प्रशंसा गर्नुभयो । सिद्धार्थले यसै बर्ष बालिका शिक्षाको लागि उडान कार्यक्रम मार्फत साइकल बाँड्ने कार्यक्रम ल्याएको भन्दै यो कार्यक्रमले आफ्नो मन छोएको बताउनुभयो । संस्थाले पारदर्शी ढंगले बजेट सार्वजनिक गरेको भन्दै आगामी दिनमा लागु औषधको कुलतबाट बचाउने र बालविवाह अन्त्यको कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका प्रतिनिधि रवि बहादुर काफ्लले सिद्धार्थ सामाजिक विकास केन्द्रले गरेको कामको खुलेरै प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा सिद्धार्थ क्याम्पसका पूर्व क्याम्पस प्रमुख बालाराम ज्ञवाली, वडा नं. ११ का वडाध्यक्ष सोमनाथ अर्याल, संस्थाका पूर्व अध्यक्षहरु टंकप्रसाद आचार्य, पोमनाराण पौडेल, लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण संस्थाका सचिव रोमकान्त घिमिरेले गर्नुभएको थियो ।
प्रतिक्रिया