काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना नेता कार्यकर्तालाई आह्वान गरेको छ। कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरूको बिहीबार बसेको बैठकले २९ गते हुने प्रदर्शनको तयारीको बारेमा छलफल गर्दै सबै नेता कार्यकर्तालाई सडकमा उत्रिन आह्वान गरेको हो।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले ७७ वटै जिल्लामा हुने प्रदर्शनको तयारीको बारेमा छलफल भएको बताए। ‘२९ गतेको लागि हामीले ७७ वटै जिल्लामा जुन र्याली निकालेर अहिलेको सरकारको दमन नीतिलाई विरोध गर्ने बारेमा छलफल भएको हो। ७७ वटै जिल्लामा गर्ने हो,’ उनले भने, ‘काठमाडौंमा, ललितपुरमा र भक्तपुरमा पनि गर्ने टुंगो लगायौँ। सल्लाह त्यही भएको छ।’
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार, वरिष्ठ नेता रामचन्द्र पौडेल माथि मंसिर १७ गते तनहुँमा भएको गिरफ्तारीको विरोधमा प्रदर्शन गर्न लागिएको बताए।
‘कोरोनाको महामारी चलिरहेको छ र सरकारको ध्यान कोरोनाको महामारीतर्फ गम्भीर छैन। नागरिकको जीवन अस्पतालमा बेड नपाएर, भेन्टिलेटर नपाएर, सामग्रीहरु नपाएर छटपटी रहेको बेलामा सरकार र सत्तारुढ पार्टी आफ्नो सत्ताको द्धन्द्धमा केन्द्रीत भएको छ,’ उनले भने, ‘त्यसैले हामी २९ गते प्रदर्शन गर्दैछौं । प्रदर्शन गर्दैगर्दा खेरी आजको बैठकले विशेष रुपमा देशभरी रहनुभएका पार्टी सदस्य, शुभचिन्तक सबैलाई सहभागी बन्नका लागि अपिल गरेको छ ।’
प्रवक्ता शर्माले सरकार बने पछाडि बढिरहेको भ्रष्टाचारको विरुद्धमा समेत प्रदर्शन केन्द्रित हुने बताए। ‘यो सरकार बने पछाडि निरन्तर बढिरहेको भ्रष्टाचार, स्वास्थ्य सामग्रीको खरिद सम्म भएको भ्रष्टाचार देखि लिएर भ्रष्टाचारको अनेकन प्रकरणहरुविरुद्ध सडकमा २९ गते उत्रिनलाई बैठकले अपिल गरेको छ’ उनले भने।
प्रवक्ता शर्माले सरकारले सर्वसत्तावादी चरित्र र अधिनायकवादी आकांक्षा प्रस्तुत गरेको समेत बताए। यस्तै बैठकले मोरङ जिल्लामा शिक्षक हत्या भएको घटनामा संलग्नलाई कडा कारबाही गर्नसमेत माग गरेको प्रवक्ता शर्माले जानकारी दिए।
प्रतिक्रिया