१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

भष्ट्राचार बिरुद्धको अभियानले गति लिदै छः रामजी घिमिरे



मायादेवी अनलाइन, अर्घाखाँची ।
लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले भष्ट्राचारमा शुन्य सहनशीलता बढेको जिकिर गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय भष्ट्राचार बिरुद्धको दिवशको अवसरमा गैरसरकारी संस्था महासंघ अर्घाखाँचीको आयोजना तथा सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरीक सञ्जालको समन्वयमा भएको कार्यक्रममा बोल्दै घिमिरेले अनियमितताका उजुरी बढ्नु भ्रष्टाचर बढ्नुको एथेष्ट प्रमाण नभएको भन्दै उजुरी बढ्नु सरकारले ल्याएको भ्रष्टाचार बिरुद्धको शुन्य सहनशलता नीतिको उपज भएको बताउनुभयो ।

भ्रष्टाचार निवारण र लैङ्गिक हिंसा न्यूनिकरणमा सार्वजनिक निकायको भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रममा घिमीरेले नागरिकमा समेत कतै अनियमितता भएको देखे वा जानकारी पाए उजुरी गर्ने परिपाटीको विकास भएको भन्दै यसले भष्ट्राचार बिरोधी अभियानले गति लिएको बताउनुभयो ।

उहाँले लैंङ्गिक हिंसा, भ्रष्टाचार, सामाजिक बिकृति बिसङ्गतीको अन्त्य गर्न पहिला आ–आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले ट्रान्सपरेन्सी इन्टरनेश्नलको प्रतिवेदन मिथ्या र सरकारलाई आरोप लगाउने खालको भएको बताउनुभयो ।

सन्धिखर्क नगर-प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालिकाले भष्ट्राचार मुक्त नगरपालिका बनाउने अभियानमा अनवरत रुपमा लागि रहेको बताउनुभयो । उहाँले बिभिन्न योजनामा बजेट परेपछि कार्यसम्पन्न र भुक्तानी नहुँदै पनि अनियमितताको बारेमा उजुरी हाल्ने गलत परिपाटी बस्ने गरेको पनि बताउनुभयो ।

भूमिकास्थान नगरपालिका प्रमुख रेशम थापाले भ्रष्टाचार निवारण आफैबाट सुरु गर्नुपर्ने बताउनुभयो । थापाले राज्यको उपल्लो ओहोदाबाटै भ्रष्टाचार जन्य गलत मानसिकलाई त्याग्दै सबै दुर दराजसम्मको मानसिकतामा सुधार ल्याउनुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जिल्लामा भ्रष्टाचारमा संलग्नलाई प्रोत्साहित नगरी निरङ्कुशताका साथ नीतिको कार्यान्वयन गरिने बताउनुभयो । उहाँले व्यक्ती, संस्था, समुह, तथा राज्यका तह तथा तत्काहरु सार्वजनिक निकाय रहेको उल्लेख गर्दै हरेक सार्वजनिक निकायलाई भ्रष्टाचार मुक्त बनाउन उद्दत रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक माधवराज बुढाथोकी, संयुक्त दलित अधिकार मञ्चका संयोजक ठाकुर सौराग, अन्तरपाटी महिला सञ्जालका प्रतिनिधि इश्वरा पोख्रेल, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष गणेश खनाल लगायतले बोल्दै भ्रष्टाचार सामाजिक अपराध भएकोले त्यसको अन्त्य गर्न सबै पक्षको ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा एकीकृत ग्रामीण विकास समाजका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले भ्रष्टाचार निवारणमा सार्वजनिक निकायको भूमिका र गैसस महासंघका सागर परियारले लैङ्गिक हिंसा न्यूनिकरणमा सार्वजनिक निकायको भूमिका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष ठाकुर प्रसाद अधिकारीको अध्यक्षता, सदस्य फर्सुराम पाण्डेको स्वागत मन्तब्य र सचिव राधा नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७७ बुधबार ००:००  ५ : ०३ बजे