१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बाणगंगामा सुरु भयो ब्याडमिन्टनको राष्ट्रिय घम्साघम्सी, कसले बाजी मार्ला ?



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा ‘खुल्ला राष्ट्रिय पुरुष डबल्स ब्याडमिन्टन’ प्रतियोगिताको घम्साघम्सी सुरु भएको छ । बुधबार दिउँसो नगरपालिकाका नगरप्रमुख मंगल प्रसाद थारुले उद्घाटन गरेसंगै प्रतियोगिता सुरु भएको हो । नगरको वडा नम्बर ४ को आयोजना तथा स्थानीय शान्ति दिप क्लवको संयोजनमा सुरु भएको प्रतियोगितामा विभागिय नेपाल आर्मीका खेलाडीसहित ३५ बढी टिमले भाग लिएका छन् ।

यस्तै राष्ट्रिय खेलाडीहरु विनोद पौडेल, रामु थापा, विश्वास नेपाल, इर्फान अन्सारी, विशाल खनाल पनि सहभागी भएका छन् भने राष्ट्रिय रेफ्रीहरु सुदिप योञ्जन, उदय अर्याल, सुमित शाक्य लगायतले खेल खेलाइरहनु भएको छ । बुधबार क्वालिफाइङ खेलहरु भइरहेका छन् । विहिबार साँझ यस प्रतियोगिताको विजेताको टुङ्गो लाग्ने छ ।

प्रतियोगितामा बाणगंगाबाट पनि टिम सहभागी छन् भने रुपन्देही, पाल्पा, नवलपरासी, दाङ लगायतबाट पनि भाग लिएका छन् । प्रतियोगितामा भाग लिएका स्थानीय खेलाडी पनि राष्ट्रिय खेलाडीलाई चुनौति दिने खालका भएका हुनाले कसले जित्छ यसै भन्न सकिन्न ।

प्रतियोगितामा लागु औषध दुव्र्यसनमा लागेर पुर्नस्थापित भइसकेका र बिभिन्न सुधारगृहमा बसिरहेका खेलाडीले पनि भाग लिएका छन् ।

प्रतियोगितामा विजेता हुने टिमले ६६ हजार, उपविजेताले ३३ हजार र तृतीय हुने टिमले १६ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

बाणगंगा नगरपालिकामा अहिले ब्याडमिन्टनको क्रेज बढेको छ । यहाँ राष्ट्रिय स्तरको खेल खेल्न सक्ने खेलाडी पनि छन् । उनीहरुलाई थप हौसला र प्रेरणा प्रदान गर्न पनि यो प्रतियोगिता अनुकरणीय हुने आयोजकको अपेक्षा छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७ बुधबार ००:००  ४ : ३१ बजे