गुल्मी ।
लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले देशमा कम्युनिष्ट पार्टी (नेकपा)को सरकार आइसकेपछि विकास निर्माणका कामले फड्को मारेको दाबी गरेका छन् ।
रुरु धार्मिक तथा पर्यटकीय क्षेत्र रिडी धाममा रिडी खोला तथा कालीगण्डकी नदी नियन्त्रण आयोजनाको मंगलबार शिलान्यास गर्दै मन्त्री पोखरेलले राम्रा कामहरु देख्न नसक्नेले केही भएन भनेर हल्ला मच्चाएको आरोप लगाए ।
सरकारले गरेका राम्रा कामलाई उल्लेख पनि गर्न नचाहने केही शक्ति लागेका भन्दै तथ्यमा आधारित भएर बोल्नसमेत उनले आग्रह गरे ।प्रदेश सरकार प्रदेशका नागरिकहरुलाई समृद्ध बनाउन लागिपरेको भन्दै प्रदेशले विभिन्न योजना बनाएको उनले बताए। प्रदेश सरकारले व्यावसायिक रुपमा उद्यम गर्नेहरुका लागि ब्याजमा अनुदान दिने योजना ल्याएको बताए । त्यसका लागि दीर्घकालीन रुपमा व्यवसाय गर्न पनि प्रदेशका नागरिकहरुलाई उनले आग्रह गरे ।
यस्तै लुम्बिनी प्रदेशका उद्योग ,पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरीले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार साथमै रहेको बताए ।
केन्द्र सरकार र प्रदेश सरकारको समपूरक कोषमार्फत २०७६र७७ मा बोलपत्र गरी ३४ करोड २० लाख ६० हजार ६३९ रुपैयाँ ६९ पैसामा भूतथा जलाधार व्यवस्थापन कार्यालय पाल्पा र सगुन शर्मा जेभी बुटवलबीच सम्झौता भएको हो । २०७७ जेठ ११ गते सम्झौता भई २०७९ साल मंसिर १० गतेभित्रै कार्य सम्पन्न गर्नुपर्नेछ। नदी क्षेत्रमा कुल २ हजार ८२० मिटर लम्बाइ, सात मिटर उचाइ रहेको आरसिसी टेवा पर्खाल निर्माण गरिने छ भने ऋषिकेश मन्दिर क्षेत्रमा २८८ मिटरको सिँढी (प्याराफिट) निर्माण गरिनेछ । कार्यक्रममा पाल्पा र गुल्मी क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुखलगायतको सहभागिता थियो ।
प्रतिक्रिया