१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

संविधान विरोधी विरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आग्रह



काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी र हिंसात्मक गतिविधि गर्ने विरुद्ध एकजुट हुन संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग आग्रह गर्नुभएको छ । मङ्गलबार बसेको सर्वदलीय बैठकमा उहाँले राजतन्त्रको पक्षमा भएका आन्दोलनबारे गम्भीर बन्दै जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न एक जुट हुन आग्रह गर्नुभएको हो । सर्वदलीय बैठकमा राजतन्त्रको पक्षमा देशका विभिन्न ठाउँमा भएका प्रदर्शन तथा कोरोना सङ्क्रमण नियन्त्रणबारे छलफल भएको थियो ।

बैठकको सुरुमै प्रधानमन्त्री ओलीले संविधान र गणतन्त्र विरोधी गतिविधिविरुद्ध सबै एक हुनुपर्ने समय आएको बताउनुभएको हो । दलहरूभित्रको किचलोलाई कारण देखाएर परिवर्तन विरोधीहरू सलबलाउन थालेको भन्दै उहाँले यसका विरुद्ध एक हुनुपर्नेमा जोड दिनुभएको हो । प्रधानमन्त्री ओलीको आह्वानमा मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै तीन घण्टा छलफल चलेको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकमा कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने, सरकारका गतिविधि र बढ्दो भ्रष्टाचारका कारण नागरिकमा निराशा छाएको, राजतन्त्रको पक्षमा सडकमा प्रदर्शन बढेको लगायतका विषयमा सरकारलाई ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७ मंगलबार ००:००  ४ : २३ बजे