मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा ‘खुल्ला राष्ट्रिय पुरुष डबल्स ब्याडमिन्टन’ प्रतियोगिता हुने भएको छ । नगरको वडा नम्बर ४ को आयोजना तथा स्थानीय शान्ति दीप युवा क्लवको संयोजनमा मंसिर २४ र २५ गते गरी २ दिनसम्म प्रतियोगिता हुन लागेको सोमबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइयो ।
वडाध्यक्ष गणेश बहादुर क्षेत्रीका अनुसार ‘लागु पदार्थ दुव्र्यसनरहित स्वस्थ र समुन्नत समाज निर्माणको लागि खेलकुद’ भन्ने मूल नारासहित बुद्ध रंगशालास्थित कभर्ड हलमा प्रतियोगिता गर्न लागिएको छ । विभागीय क्लव (नेपाल आर्मी, नेपाल प्रहरी, शशष्त्र प्रहरी ) सहित ४० बढी ब्याडमिन्टन जोडीले प्रतियोगितामा भाग लिने पनि उहाँले जानकारी दिनु भयो ।
प्रतियोगिताको लागि देशभरबाट अहिलेसम्म ३२ बढी टिमले नाम दर्ता गरिसकेको र प्रतियोगिता हुने अवधिसम्म त्यो संख्या धेरै बढ्ने उहाँँको भनाई छ । प्रतियोगितामा लागु औषध दुव्र्यसनमा लागेर पुर्नस्थापित भइसकेका र बिभिन्न सुधारगृहमा बसिरहेका खेलाडीले पनि भाग लिने क्षेत्रीले जानकारी दिनुभयो । कपिलवस्तुमा प्रशस्त पर्यटकीय र सांस्कृतिक सम्पदा भएको हुँदा ती स्थानमा राष्ट्रिय खेलाडीलाई भ्रमण गराई चिनाइने पनि उहाँको भनाई छ ।
प्रतियोगितामा विजेता हुने टिमले ६६ हजार, उपविजेताले ३३ हजार र तृतीय हुने टिमले १६ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला खेलकुद विकास समितका पूर्व अध्यक्ष छवी रेश्मीले मुलुकभरमै वडाको आयोजनामा हुन लागेको यो पहिलो राष्टिय प्रतियोगिता भएको दावी गर्नुभयो । कोरोनाको यस विषम स्थितिमा देशभर ब्याडमिन्टनको क्रेज बढेका कारण खेल्ने खेलाडीलाई थप सिक्ने र सिकाउने वातावरण प्रदान गर्नु पनि यसको अर्को लक्ष्य भएको उहाँको भनाई छ ।
खेल संयोजक शुशिल सिंह ठकुरीले मायादेवीलाई बताउनु भएअनुसार प्रतियोगिताको लागि तयारी पनि धमाधम भइरेको छ । अहिले कभर्ड हललाई चुस्तदुरुस्त गराउने, खेलाडीको लागि बासस्थान र खानपानको वयवस्थापन, प्रचार प्रसार, सम्पर्क समन्वय गर्ने लगायतका कामहरु भइरहेका छन् ।
बाणगंगा नगरपालिकामा अहिले ब्याडमिन्टनको क्रेज बढेको छ । यहाँ राष्ट्रिय स्तरको खेल खेल्न सक्ने खेलाडी पनि छन् । उनीहरुलाई थप हौसला र प्रेरणा प्रदान गर्न पनि यो प्रतियोगिता अनुकरणीय हुने आयोजकको अपेक्षा छ ।
समाजसेवी चन्द्रकान्त पोख्रेलको संचालनमा भएको पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघका जिल्ला अध्यक्ष तिलक थापा, वडा सदस्यहरु, झुँगा टोल विकास समितिका पदाधिकारी तथा संचारकर्मी लगायतको सहभागिता थियो ।
प्रतिक्रिया