१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

मंगलबार सगरमाथाको नयाँ उचाइ सार्वजनिक हुने



काठमाडौं ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ भोलि (मंगलबार) सार्वजनिक हुने भएको छ । नेपाल र चीन दुवैले एकैपटक सगरमाथाको उचाइ सम्बन्धी प्रतिबेदन सार्वजनिक गर्न लागेका हुन् ।

भूमि व्यवस्था मन्त्रालयका अनुसार मंगलबार नेपाल र चीन दुबै देशले एकै पटक सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्नेछन् । सगरमाथाको उचाइ सार्वजनिक गर्न नेपाल सरकारले चीन सरकारसँग प्रस्ताव गरेको थियो । नेपालको प्रस्तावमा चिनियाँ पक्षले सहमति जनाएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालय स्रोतका अनुसार मंगलबार दुवै देशका परराष्ट्रमन्त्री सम्मिलित संयुक्त भर्चुअल बैठकबाट सगरमाथाको नयाँ उचाइ सार्वजनिक हुने छ । केही समयअघि मात्रै नेपाल र चीन दुबै देशले सगरमाथाको उचाइ मापन गरेका थिए ।

नेपालले पहिलोपटक आफ्नै स्रोत साधनको प्रयोग गरेर सगरमाथाको मापन गरेको हो । करिब २ वर्षअघि सरकारले सगरमाथाको मापन गर्न सुरु गरेको थियो । यसका लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो । सचिवालयले गत असारमै रिपोर्ट तयार गरेर मन्त्रालयमा बुझाएको थियो ।

नेपालले पहिलोपटक ग्लोबल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो । यो प्रविधि सबैभन्दा अत्याधुनिक भएको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर छ । यही उचाइलाई अन्तर्राष्ट्रिय जगतले पनि मान्यता दिँदै आएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७ सोमबार ००:००  २ : १९ बजे