मायादेवी अनलाइन, चार नम्बर ।
पवित्र धार्मिक तथा पर्यटकीयस्थल वाणगंगा-२ नन्दनगरमा सोमबारबाट शुरु भएको महायज्ञ आइतबार (आज) सकिएको छ ।
मनकामना कैलाश आश्रम तथा संस्कृत विद्यापीठ गुरुकुलमको आयोजनामा शुरु भएको श्रीमद् मार्कण्डेय पुराण २६ औँ महाअनुष्ठान नवकुण्डिय धानधान्याञ्चल ध्वनात्मक महायज्ञ सातौं दिनमा आइतबार साँझ सकिएको हो ।
महायज्ञ सोचेभन्दा राम्रो भएको र अहिलेको विषम परिस्थितीमा पनि सबैको साथ र सहयोग मिलेको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष खिमानन्द घिमिरेले बताउनुभयो ।
गुरुकुलमका ध्यान शिक्षक युवराज बेल्वासेका अनुसार महायज्ञमा झण्डै एक करोड उठेको छ । सरकारी निकाय, गोप्यदान, भण्डारा सेवा दान लगायतबाट करिब एक करोड उठेको अनुमान गरिएको बेल्वासेले मायादेवी अनलाइनलाई बताउनुभयो । यस्तै महायज्ञमा ९० क्वीन्टल धान, र ८० क्वीन्टल चामल उठेको उहाँले बताउनुभयो ।
महायज्ञको आइतबार अन्तिम दिन मात्र तीस लाख उठेको कैलाश आश्रमका अध्यक्ष रविराज ज्ञवालीले बताउनुभयो । जसमा वाणगंगाको चारनम्बर बस्ने अमित पौडेलले रु ६ लाख २५ हजार रुपैयाँ दिनुभएको छ ।
वैदिक सनातन तथा गुरुकुल शिक्षा प्रवर्धन गर्ने उद्देश्यले संचालित महायज्ञमा विभिन्न क्षेत्रका व्यक्ति तथा भक्तजन ब्रतालुले नगद, जिन्सी तथा प्रसाद अर्पण गरेको भन्दै अध्यक्ष ज्ञवालीले सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।
महायज्ञमा सन्त शिरोमणी १००८ स्वामी लोकानन्द महाराज र प्रमुख बाचक पंडित विष्णु ज्ञवालीले दैनिक प्रवचन तथा आर्शिवचन दिनुभएको थियो । महायज्ञको सातैं दिन मायादेवी टिभीले छायाङ्कन गरेको थियो भने साझा टिभीले उक्त कार्यक्रम प्रशारण गर्दै आएको थियो । महायज्ञका सबै कार्यक्रम मायादेवी अनलाइन डटकम नामका फेसबुक पेज र मायादेवी टिभी युट्युव च्यानलमा प्राप्त गर्न सक्नुहुने छ ।
प्रतिक्रिया