काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्ध अध्यक्ष केपी शर्मा ओली पक्षधरका केही नेताहरू तल्लो स्तरमा उत्रिएर अमर्यादित पोस्टहरू गर्न थालेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष ओलीका प्रेस संयोजक सूर्य थापानै सामाजिक सञ्जालमार्फत तल्लो स्तरमा उत्रिएर कु-प्रचार गरिरहेका छन् ।
उपाध्यक्ष गौतमको पुरानो तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरेर कु-प्रचारमा लागेका हुन् । पार्टीमा अल्पमतमा परेका ओलीको प्रस्ताव गौतमले अस्वीकार गरेपछि उनीविरुद्ध ओली पक्षधरका नेताहरू सुनियोजित रूपमा कु-प्रचार गर्न थालिएको छ । गौतमको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेर थापाले ‘को कस्तो ? तस्बिर काफी छ’ भनेर लेखेका छन् ।
उपाध्यक्ष गौतमले आफ्नो समर्थन नगरेपछि ओली पक्षधर तल्लो स्तरमा उत्रिएर कु-प्रचारमा लागेको नेकपा एक नेताले बताए । शनिबारको सचिवालय बैठकमा ओलीले रामबहादुर थापा ‘बादल’मार्फत पार्टीमा उत्पन्न समस्या समाधानका लागि गौतमको नेतृत्वमा कार्यदल गठन गर्ने प्रस्ताव गरेका थिए । गौतमले उक्त प्रस्ताव ठाडै अस्वीकार गरेका थिए । त्यसपछि उक्त प्रस्ताव सचिवालयबाट अस्वीकृत भएको थियो ।
यस्तै स्थायी कमिटीको बैठक बोलाउने विषयमा पनि ओलीले असहमति जनाएका थिए । तर बहुमतका सदस्यहरूले बहुमतबाट स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेपछि ओलीले आफूमाथि पार्टीमा बल प्रयोग गरेको आरोप लगाएका थिए । पार्टीभित्र ओली अप्ठेरोमा पर्न थालेपछि उनी निकट नेताहरू इतर समूहविरुद्ध कु-प्रचारमा उत्रिन थालेको ती नेताले बताए ।
प्रतिक्रिया