११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

बाँकेमा सहकारीको करोडौं रकम हिनामिना गर्ने ४१ जनामाथि मुद्दा चलाइयो



नेपालगन्ज ।
बाँकेमा एक सरकारी संस्थाले बचतकर्ताको ४३ करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा प्रहरीले ४१ जनामाथि ठगी तथा संगठित अपराध अभियोगमा जिल्ला अदालतमा मुद्दा चलाएको छ ।

बचत गरेको रकम डेढ वर्षसम्म फिर्ता नपाएपछि १ हजार बचतकर्ता समस्यामा परेका छन्। सहकारी वित्तीय विकास संस्थाको रकम हिनामिना भएको सार्वजनिक भएपछि २०७६ जेठदेखि यो बन्द छ ।

रकम घोटालामा संलग्न रहेको अभियोगमा बाँके प्रहरीले सहकारीका अध्यक्ष हरदेव बक्स चौधरीसहितलाई मुद्दा चलाएको हो। ७ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने अझै पनि ६ जना फरार छन। २८ जना धरौटीमा छुटेका छन् ।

संस्थाका अध्यक्ष, संचालक समितिका सदस्य, कर्मचारीसहित ४१ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय बाँकेले २०७६ असोज २८ गते सहकारी ऐन, ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेको थियो ।

१० वर्षदेखि नक्कली कागजपत्र बनाएर नेपालगन्जको यो सहकारीका संचालक, कर्मचारी र लेखा परीक्षकलगायत मिलेर रकम अपचलन र ठगी गर्दै आएका थिए । डेढ वर्षदेखि निरन्तर दबाब दिँदा पनि सहकारीले ११ हजार ४ सय ८ जना बचतकर्ताको रकम फिर्ता नगरेको पीडित संघर्ष समितिका सदस्य आशुतोष शुक्लाले बताए।

आफ्ना समस्या सहकारीमन्त्री देखि प्रधानमन्त्रीलाई समेत पटक पटक ध्यानाकर्षण गराइँदा पनि कुनै सुनुवाइ नभएको शुक्लाले बताए । बाँके प्रहरीले विज्ञहरुको सहयोगमा अनुसन्धान गर्दा हिनामिना भएको वास्तविकता फेला पारेको हो। २०५१ सालमा स्थापित यो सरकारी बाँकेकै सबैभन्दा पुरानो हो ।

प्रकाशित मिति : २० मंसिर २०७७ शनिबार ००:००  ६ : ०४ बजे