११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

तीन स्वास्थ्य संस्थाले पाए ३३ लाख बढी मूल्यका स्वास्थ्य सामग्री र उपकरण



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुका ३ स्वास्थ्य संस्थालाई ३३ लाख बढी मूल्यको स्वास्थ्य सामग्री र उपकरण प्रदान गरिएको छ ।

कतार च्यारेटीको सहयोगमा लिडो नामक संस्थाले बाणगंगा नगरपालिकाको पिपरा अस्पताल, मायादेवी गाउँपालिकाको हरनामपुर प्राथमिक उपचार केन्द्र र यशोधरा गाउँपालिकाको बैदौली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री र उपकरण प्रदान गरिएको हो ।

प्रत्येकलाई ११ लाख बढिको उपकरण हस्तान्तरण गरिएको हो । हरनामपुर प्राथमिक उपचार केन्द्र र बैदौली स्वास्थ्य चौकीलाई आधारभूत अस्पताल निर्माण गर्न शिलान्यास समेत गरी सकिएको छ ।

युएस जि मेसिन, हस्पिटल बेड, पेसेन्ट ट्रली, विलचीयर लगायतका उपकरणहरु अस्पताललाई हस्तान्तरण गरिएको हो । संस्थाले स्वास्थ्य संस्था मै सो सामग्रीहरु हस्तान्तरण गरेको थियो ।

सांसद तथा लिडोका अध्यक्ष अतहर कमालले स्वास्थ्य संस्थामा गुणस्तीय सेवा प्रदान गर्ने उद्देश्यले सो सामग्री प्रदान गरिएको बताए । उनले सो सामग्रीले स्वास्थ्यकर्मी र बिरामीलाई समेत उपचारमा सहज हुने बिश्वास गरे ।

कतार च्यारिटिका राष्ट्रिय ब्यवस्थापक ईरसाद सेखले देशकका बिभिन्न सरकारी स्वास्थ्य संस्थालाई आफ्नो संस्थाले स्वास्थ्य उपकरणहरु उपलब्ध गराएकोे बताए । उनले सो सामग्रीले स्वास्थ्य संस्थामा बिरामीहरुको चेकजाँचमा सहज हुने बताए ।

स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु, यशोधरा गाउँपालिका प्रमुख गिरीजेश कुमार पाण्डेय र मायादेवी गाउँपालिका प्रमुख बजरंगी प्रसाद चौधरीले संस्थाले निकै राम्रो काम गरेको बताए ।

लिडोकी ब्यवस्थापक सुनिता बेल्बासेले यस अघि कपिलवस्तु सामुदायिक अस्पताल, कपिलवस्तु अस्पताल, तौलिहवा आखाँ अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुमा समेत स्वास्थ्य सामग्री उपलब्ध गराएको बताईन ।

प्रकाशित मिति : १९ मंसिर २०७७ शुक्रबार ००:००  ६ : ०९ बजे