८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नन्दनगर महायज्ञमा तिनदिनमा ६० लाख संकलन, ८० क्विन्टल धान चामल पनि जुट्यो



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुकै पवित्र धार्मिक तथा पर्यटकीय स्थल बाणगंगा २ नन्दनगरमा सोमबारबाट सुरु भएको महायज्ञमा दान तथा सहयोग गर्नेहरुको ओइरो लागेको छ ।

मनकामना कैलाश आश्रम तथा संस्कृत विद्यापीठ गुरुकुलम्को आयोजनामा सुरु भएको श्रीमद् मार्कण्डेय पुराण २६ औँ महाअनुष्ठान नवकुण्डिय धानधान्याञ्चल ध्ववनात्मक महायज्ञमा आज तेश्रो दिनसम्म स्थानीय सरकार सामाजिक संस्था, ब्यक्ति तथा ब्रतालुले नगद, सेवा तथा जिन्सी सहयोग गर्नु भएको छ ।

यज्ञ सम्पादन मूल आयोजक समितिका अध्यक्ष खिमानन्द घिमिरेका अनुसार बाणगंगा नगरपालिकाले २५ लाख रुपैयाँ सहयोग घोषणा गरेको छ । उद्घाटनकै अवसरमा नगर प्रमुख मंगल प्रसाद थारुले यस क्षेत्रको विकासको लागि २५ लाख बजेट विनियोजन भएको जानकारी दिनु भएको थियो ।

यस्तै तेश्रो दिन बुधबार वरिष्ठ समाजसेवी युवराज भूसालले डेढ लाख नगद सहयोगको घोषणा गर्नु भएको छ । नन्दवनको पवित्र अनुष्ठानबाट प्रभावित भएर गुरुकुलमको लागि सो नगद र भौतिक संरचना (हरिद्धार गेट) निर्माणको लागि २० लाख सहयोग गर्ने बताउनु भयो ।

यस्तै कैलास आश्रम नन्दवनको आश्रमको भौतिक पुर्वाधारको लागि दाङ तुल्सिपुर निवासी (हाल तौलिहवा ) रहनु भएकी रमा रेग्मिले आफ्नो स्वर्गीय पति तारा प्रसाद रेग्मीको संझनामा १ लाख ५१ हजार सहयोग गर्नु भएको छ । पुर्वाधार निर्माणको लागि १ लाख र गुरुकुलम्मा आवस्यक सामाग्रीको लागि ५० हजार दान गर्नुभएको महायज्ञका आर्थिक समिति संयोजक अमित पौडेलले बताउनु भयो ।

कोरोना महामारीको प्रतिकुल समयमा अरुले पनि सहयोग गरेका छन् । गुरुकुलमको संरक्षण र संवद्धनको लागि भन्दै इलाका प्रहरी कार्यालय पिपरा प्रमुख दिनेश गुरुङले दश हजार सहयोग गर्नु भएको छ । सैनामैना ६ कलौनी निवासी खिमानन्द पोख्रेल १ दिनको भण्डाराका लागि दश हजार, धनगढी निवासी गजेन्द्र मल्ल र डियाना मल्लबाट भण्डाराका लागि दश हजार, सहयोग भएको छ । यस्तै धान तथा चामल पनि संकलन भइरहेको छ । आजसम्म ६० क्विन्टल धान र २० क्विन्टल चामल पनि संकलन भएको छ ।

आगामी २२ गतेसम्म हुने महायज्ञबाट आर्थिक साथै १ हजार क्विन्टल चामल र ५ सय क्विन्टल धान संकलन गर्ने लक्ष्य छ । सहयोग गर्न इच्छुकले सामाजिक संजालबाट पनि सक्ने छन् । भने चार नम्बर जितपुरस्थित एनएमबी बैङ्कमा रहेका कैलाश आश्रम तथा मनकामना दुर्गा मन्दिरको खाता नम्बर ०३५००३००२७४०२२०००००१ मा आर्थिक सहयोग जम्मा गर्न सकिने जनाइएको छ ।

महायज्ञमा सन्त शिरोमणी १०००८ स्वामी लोकानन्द महाराज र प्रमुख बाचक पंडित विष्णु ज्ञवालीले दैनिक प्रवचन तथा आर्शिवचन पदइरहनु भएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७ बुधबार ००:००  ६ : ३७ बजे