एजेन्सी ।
डोनाल्ड ट्रम्पले अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएको घोषणा भए आफूले ह्वाइट हाउस छोड्ने बताएका छन्। अमेरिकी राष्ट्रपतिको चुनावमा पराजित भएपछि पहिलो पटक ट्रम्पले बिहीबार पत्रकारहरूसँग निर्वाचनको परिणामबारे अन्तर्क्रिया गरेका हुन्। उनले आफ्नो हार भने स्वीकार्न तयार नभएको बताए।
पक्कै पनि म छाड्नेछु, यो तपाईंहरूलाई थाहा छ, उनले भने,‘ यसलाई स्विकार्न निकै कठिन हुनेछ किनकी हामीलाई थाहा छ कि चुनावमा ठूलो धाँधली भएको छ। उनले जो बाइडेनले ८ करोड मत ल्याउन सम्भव नभएको जिकिर गरे। ट्रम्पले सुरूदेखि नै चुनावमा धाँधली भएर आफूलाई हराइएको तर्क गर्दै आएका छन्।
यसबारे ट्रम्पलाई प्रतिप्रश्न गर्न लागेका समाचार संस्था रोयटर्सका पत्रकारलाई उनले हतोत्साही गरे। ‘म अमेरिकाको राष्ट्रपति हुँ। राष्ट्रपतिसँग त्यसरी कुरा नगर्नुस्। कुनै पनि राष्ट्रपतिसँग त्यसरी कुरा नगर्नुस्,’ ट्रम्पले भने। अमेरिकामा नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनको औपचारिक मत परिणाम अझै सार्वजनिक भएको छैन। केही राज्यहरूमा धाँधली भएको भन्दै ट्रम्पको अभियानका मान्छेहरूले मुद्दा हालेका छन्। तीमध्ये धेरै मुद्दा अदालतले खारेज गरिदिएका छन्।
प्रतिक्रिया