गुल्मी ।
गुल्मी जिल्लालाई २०७२ साल असार २६ गते तत्कालिन उपराष्ट्रपति परमानन्द झाले तामझामका साथ खुला दिसामुक्त जिल्ला घोषणा गर्नुभयो ।
जिल्ला खुला दिसामुक्त भएपनि तम्घासका मुख्य सडकमै खुला रुपमा शौच गर्ने गरेको पाइएको छ। सदरमुकाम तम्घासको मुख्य स्थानमै सार्वजनिक शौचालय नहुनु र भएको शौचालय पनि प्रयोगमा नआउनु दुःखद भएको बताउँछन् नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डे ।
तत्कालिन जिल्ला विकास समितिको आर्थिक सहयोगमा निर्माण भएको शहीद चोकको शौचालय करिब ५ वर्षदेखि प्रयोगमा छैन । सो शौचालय प्रयोगमा नहुँदा तम्घासको मुख्य स्थान बाल मन्दिर अगाडी दुई दिउँसै शौच गरेको पाइएको छ।
गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला अदालत नजिकै रहेको स्थानको मुख्य सडकमै यसरी शौच गर्नु लज्जास्पद भएको स्थानीयहरूले बताएका छन् ।
यता, रेसुंगा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले सो सार्वजनिक शौचालयलाई प्रयोगमा ल्याउने दाबी गरे। बसपार्क, अर्घाखाँची जीप पार्क र भगवती मन्दिरमा रहेको सार्वजनिक शौचालयहरू प्रयोगमा आइरहेका छन् ।
उनले जिल्ला प्रशासनको आसपासमा रहेको शहीदचोकको शौचालयलाई प्रयोगमा ल्याउने र अन्य सार्वजनिक शौचालय निर्माण गर्नका लागि जग्गा नभएको समेत बताए ।
प्रतिक्रिया