९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको निधन



काठमाडौ ।

भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको निधन भएको छ । उनका छोरा फैसल पटेलले ट्वीट गरेर बुधबार बिहान साढे ३ बजे पिताको निधन भएको जानकारी दिएका हुन् । ७१ वर्षका अहमद पटेल एक पहिना पहिले कोरोना भाइरसबाट संक्रमित भएका थिए । उनको निधन दिल्लीस्थित सेट गुडगाउँको एक अस्पतालमा भएको हो ।

फैसल पटेलले लेखेका छन्, ‘सबै शुभचिन्तकसँग अनुरोध गर्छु कि यो बेला कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सबै नियमहरु पालना गर्नु होला र भौतिक दूरी कायम गर्ने होला, सामूहिक कार्यक्रम नगर्नु होला ।’ प्रधानमन्त्री नरेन्द्र मोदीले अहमद पटेलको निधनप्रति शोक व्यक्त गरेका छन् ।

कांग्रेस अध्यक्ष सोनिया गान्धीले शोक सन्देश जारी गरेकी छन् । उनले लेखेकी छन्, ‘अहमद पटेलका रुपमा मैले एक सहयोगी गुमाएँ जसले सम्पूर्ण जीवन कांग्रेसका लागि समर्पित गर्नुभएको थियो‘मैले एक विश्वस्त सहयोगी र एक साथी गुमाएकी छु ।’

कांग्रेस नेता राहुल गान्धीले अहमद पटेलको निधनप्रति दुःख व्यक्त गर्दै लेखेका छन्, ‘यो एक दुःखद दिन हो । अहमद पटेल पार्टीका एक स्तम्भ हुनुहुन्थ्यो । उहाँ जहिले कांग्रेसका लागि बाँच्नु भयो र सबैभन्दा कठिन समयमा पार्टीका साथ रहनु भयो । हामीलाई उहाँको कमी खड्किने छ । फैसल, मुमताज र परिवारका सदस्यलाई मेरो तर्फबाट प्रेम र समवेदना ।’

अहमद पटेल कांग्रेसका कोषाध्यक्ष थिए । उनी अध्यक्ष सोनिया गान्धीका राजनीतिक सल्लाहकार पनि थिए । उनी सन् १९८५ मा राजीव गान्धीका संसदीय सचिव पनि थिए । उनी सन् २०१८ मा पार्टीको कोषाध्यक्षमा नियुक्त भएका थिए । आठ पटक सांसद बनेका उनले तीन पटक लोकसभा र पाँच पटक राज्यसभामा रहेर काम गरे । उनी गान्धी परिवारका विश्वास पात्र थिए ।

प्रकाशित मिति : १० मंसिर २०७७ बुधबार ००:००  ४ : २३ बजे