गुल्मी ।
गुल्मीदरवार गाउँपालिकाभित्र रहेको करिब ४०० रोपनी बाँझो जग्गा गाउँपालिकाको भूमि बैंंकमा दर्ता भएको छ । बाँझो जग्गालाई उपयोगमा ल्याउन गाउँपालिकाले भूमि बैंंक कार्यविधि २०७७ पारित गरेको र सोहीअनुसार करिब ४०० रोपनी जग्गा गाउँपालिकाको भूमि बैंंकमा दर्ता भएको गाउँपालिकाले जनाएको छ ।
कोरोना भाइरसका कारण विदेशबाट फर्केका र स्वदेशमै रोजगारी गुमाएका युवाहरुलाई कृषि र पशुपालनमार्फत आत्मनिर्भर बनाउने गाउँपालिकाको लक्ष्य रहेको छ । बाँझो जग्गा निःशुल्क रुपमा कृषकलाई उपलब्ध गराउने र जग्गा धनीलाई गाउँकार्यपालिकाको बैठकले तोकेको मूल्य उपलब्ध गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।
बाँझो जग्गाका धनीहरुले गाउँपालिकामा असोज मसान्तसम्म निवेदन दर्ता गराएका थिए । मंसिर ७ गते कार्यपालिकाको बैठक बसी जग्गाको मूल्य तोक्ने भनिए पनि गाउँपालिकाको कार्यालय परिसरमा बस्ने एक महिलामा कोरोना संक्रमण भएपछि बैठक स्थगित गरिएको छ । अब बस्ने बैठकबाट जग्गाको मूल्य तोक्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले तोकेको समय अवधिसम्म निवेदन दर्ता नगरी जग्गा बाँझो राखेमा गाउँपालिकाबाट प्राप्त हुने सम्पूर्ण सेवा सुविधा रोक्का गर्ने र प्रतिरोपनी एक हजार रुपैयाँका दरले जरिवाना समेत गर्ने गाउँपालिकाले चेतावनी दिएको छ । गाउँपालिकाभित्र करिब ६१२ जना युवा देश तथा बिदेशबाट रोजगारी गुमाएर फर्किएका छन् ।
प्रतिक्रिया