बुटवल ।
अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा नेपाली कांग्रेस र उसको भातृ संस्था नेपाल तरूण दल र नेविसंघका कार्यकर्ताले कालो झन्डा देखाएका छन् । गृहजिल्ला पुगेका अर्थमन्त्री पौडेललाई बुधबार बिहान सडकमा कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाउँदै प्रदर्शनसमेत गरेका हुन् । तिनाउ पुल नजिकै उनीहरूले अर्थमन्त्री पौडेललाई कालो झन्डा देखाएका थिए ।
अर्थमन्त्री पौडेल सैनामैनामा सञ्चालिन आयोजना अवलोकन गर्न जाँदै गर्दा सडकमा भेला भएका कांग्रेस कार्यकर्ताले उनलाई कालो झन्डा देखाएका थिए । अर्थमन्त्री पौडेल करिब एक वर्षपछि मंगलबार बुटवल आएका हुन् ।
पदसँग राजधानी साटेको भन्दै अर्थमन्त्री पौडेललाई कालो झन्डा देखाइएको कांग्रेसले जनाएको छ । अर्थमन्त्री पौडेल बुधबार र बिहीबार रूपन्देहीका विभिन्न आयोजना अनुगमन, शिलान्यास तथा उद्घाटनमा सहभागी हुने कार्यक्रम छ ।
लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल थियो । हालै प्रदेशको स्थायी राजधानी दाङ तोकिएको थियो । यसअघि राजधानी तोक्ने क्रममा पनि कांग्रेस कार्यकर्ताले विरोध गरेका थिए । त्यसबेला नेविसंघले मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार गरेका थिए।
प्रतिक्रिया