९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आज र भोलि हरिबोधनी एकादशी



काठमाडौं ।
प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम मंसिर १० गते बुधबार एकादशी तिथि ५९ घडी नाघी ११ गते बिहान अरुणोदयकालमा पनि रहेको बताउँछन् । दशमी र एकादशी तिथि पहिलो दिन ५६ घडी नाघेमा दोस्रो दिन पनि हुन्छ भन्ने शास्त्रीय मत छ ।

एकादशी तिथि ५६ घडी नाघेका दिन स्मृतिलाई आधारमानी कर्म गर्ने अर्थात् स्मार्तले एकादशी मनाउँछन् । यसै कारण मंसिर १० गते बुधबारलाई ‘स्मार्तानां एकादशी व्रत’ भनी समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको उनले जानकारी दिए ।

वेदमा आधारित भई कर्म गर्नेले अरुणोदयकालमा एकादशी तिथि परेको दिन तिथि मनाउने गर्छन् । सूर्योदय हुनुअघिको चार घडीलाई अरुणोदय भनिन्छ । यो एकादशी यस वर्ष मंसिर ११ गते बिहीबार परेको समितिले जनाएको छ ।

जसलाई ‘वैष्णवानां एकादशी’ अर्थात् वैष्णवको एकादशी भन्ने गरिएको छ । यहाँ विशेष टीका लगाउनेलाई मात्र वैष्णव भनी बुझ्न नहुने अध्यक्ष गौतमले बताए । समितिले स्वीकृति दिएका पात्रोमा पनि यही उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७ बुधबार ००:००  ८ : २२ बजे