एजेन्सी ।
विश्वव्यापी रुपमा समुद्री सहतको निगरानी गर्न नासा र युरोपियन स्पेस एजेन्सीले पृथ्वीको सतहबाट ८ सय ३० माइल माथि स्याटलाइट पठाएका छन् । ‘द सेन्टीनल-६ माइकल फ्रिलिच’ नाम दिइएको स्याटलाइटलाई शनिबार २१ नोभेम्बरमा क्यालिफोर्नियाको भान्डेनवर्ग एयर फोर्स बेसबाट लन्च गरिएको हो ।
स्याटलाइट लन्च भएको लाइभ भिडिओ नासाको वेभसाइटमा पनि राखिएको छ । स्पेसएक्स फाल्कोन नाइन रकेटमा राखेर स्याटलाइट छोडिएको थियो । केही माथि पुगेपछि फाल्कन नाइन्स रकेटको पहिलो हिस्सा ठाडो रुपमा पृथ्वीमै फर्किएर आएको थियो भने पिकअप ट्रकको साइजको स्याटलाइट अर्बिटमा पुगेको छ । अर्बिटमा पुगेपछि यसले साढे पाँच वर्षसम्म विश्वको समुन्द्रको सतहलाई ट्र्याक गर्छ ।
तीस वर्षदेखि अन्य स्याटलाइटहरुले पनि पृथ्वीको समुन्द्र सतह निरीक्षण गर्न मद्दत गरेको छ । तर यस श्रृङ्खला यो ‘द सेन्टीनल-६ माइकल फ्रिलिच’ स्याटलाइट नयाँ हो । यसले विश्वव्यापी समुन्द्री सतहमा र जलवायु परिवर्तनको प्रतिक्रियामा कसरी परिवर्तन हुन्छ भन्नेबारे अझ सटीक तथ्यांक संकलन गर्छ ।
सेन्टिनल-६ स्याटलाइटको नाप मापन गर्ने रेजुलोसन उच्च छ । जसले समुन्द्रको गल्फ स्ट्रिमजस्तो विशाल विशेषताका साथ स(साना तटरेखा भिन्नतासमेत ट्र्याक गर्न सक्छ । गल्फ स्ट्रीम एक बलियो समुन्द्री प्रवाह हो, जसले मेक्सिकोको खाडीबाट एट्लान्टिक महासागरमा न्यानो पानी ल्याउँछ । यसले संयुक्त राज्य अमेरिका र क्यानडाको पूर्वी तटसम्म सम्पूर्ण रुपमा विस्तार गर्छ ।
स्याटलाइटले जम्मा गरेको तथ्यांकलाई मौसमको भविश्यवाणी गर्न, तूफान वा जलवायु मोडललाई ट्र्याक गर्न, आद्र्रता र वायुमण्डलीय तापक्रममा सुधार ल्याउन उपयोग गर्न सकिन्छ । यो दुई पक्षीय मिशन हो । यो स्याटलाइटको जुम्ल्याहा स्याटलाइट ‘सेन्टिनल-६ बी’ पनि छ । जुन सन् २०२५ मा लञ्च गरिनेछ । यी जुम्ल्याहा स्याटलाइटले सँगै मिलेर चार दशकसम्म समुन्द्री सतहको अनुगमन परम्परा निरन्तरता दिनेछन् ।
‘यो मिसन एउटा विश्वव्यापी साझेदारी हो, जुन हाम्रो ग्रहको अध्ययन गर्न आवश्यक छ । किनकि यो हामी सबैको हो,’ नासाको विज्ञान मिशन निर्देशनालयका सहयोगी प्रशासक थोमस जुरबुचेन भन्छन्, ‘जलवायु परिवर्तनले मानवीय जनजीवन र मानवतामा के असर पर्छ भन्ने बारे दृष्टिकोण बनाउन विज्ञानले लामो समय अध्ययन गर्नुपर्छ ।’
ग्रह अध्ययन गर्ने उत्तराधिकार
यो मिसनको नाम अमेरिकी समुद्रशास्त्री माइकल फ्रिलिचको नाममा राखिएको छ । जसले २००६ देखि २०१९ सम्म नासाको पृथ्वी विज्ञान प्रभागको निर्देशकका रुपमा काम गरेका थिए । यसै वर्ष ५ अगस्टमा माइकलको निधन भयो । पृथ्वी विज्ञान र स्याटलाइट समुन्द्र शास्त्रमा फ्रिलिचको योगदानलाई सम्झन र अन्तरिक्षमा आधारित समुन्द्री मापनलाई अगाडि बढाउनको लागि उक्त स्याटलाइटको नामकरण गरिएको थियो ।
नासाको विज्ञान मिशन निर्देशनालयका सहयोगी प्रशासक थोमस भन्छन्, ‘मानवता, कुनै एउटा एजेन्सी होइन, कुनै देश होइन, कुनै प्रान्त होइन, मानवताले २८ वर्षदेखि अन्तरिक्षबाट विश्वको समुन्द्र सतह सटीकताका साथ निरीक्षण गरिरहेको छ ।’
शनिबार लन्च गरिएको सेन्टिनल-६ ले पनि २०१६ मा लन्च गरिएको ज्यासन-३ लाई नै पछ्याउँछ । ज्यासन-३ पछाडि ३० सेकेण्डको दुरीमा सेन्टिलन-६ उड्छ । ज्यासन-३ को मिसन सकिनु अगावै बैज्ञानिकका समूहले तिनीहरुले जम्मा गरेको तथ्यांक निकाल्नेछन् ।
समुन्द्रका बारेमा अध्ययन गर्नको लागि १९९२ र २००१ मा ‘टोपेक्स’ र ‘पोसिडन’ सिमन लन्च गरिएको थियो । यो युरोपियन युनियनको पृथ्वी अवलोकन कार्यक्रमको एक हिस्सा हो । यस स्याटलाइटबाट जम्मा भएका तथ्यांकले जलवायु अध्ययन, समुन्द्री मौसम विज्ञान र समुन्द्र विज्ञानबारे अध्ययन गर्न मद्दत गर्छ ।
महासागरमा आँखा
सीएनएनले बेलायतबारे तयार पारेको रिपोर्टमा बढ्दो समुद्री सतहले लण्डनमा खतरा निम्तिन सक्ने खतरा देखाएको छ । त्यस्तै बाढीको समेत आशंका गरेका छन् । त्यस्तै माल्दिभ्सले द्वीपहरु भएको सुन्दर देश हो । १२ सय द्वीपहरुमध्ये ८० प्रतिशत टापू तीन फिटभन्दा कम छन् । जलवायु परिवर्तन र समुद्री सतह बढेको कारण १४ वटा द्वीप अहिले नै समुन्द्रमा डुबिसकेको छ । यदि २३ इन्च समुद्रको सतह बढ्यो भने माल्दिभ्सको नामोनिसान समुद्रमा बिलाउँछ । जसको कारण माल्दिभ्सका मानिसहरुले आफ्नो देश खाली गर्नुपर्छ । र उनीहरु जलवायु परिवर्तनका पहिलो शरणार्थी बन्नेछन् ।
बिना कुनै अवरोध यसरी लामो समय अनुगमन गर्दा पृथ्वीले ‘ग्लोबल वार्मिङ’ र जलवायु परिर्वर्तनमा कस्तो प्रतिक्रिया दिइरहेको छ भनेर थाहा हुन्छ । जलवायु विज्ञहरुका अनुसार यदि समुद्र सतह वृद्धि हुन्छ भने यो प्रष्ट रुपमा जलवायु परिवर्तनको सूचक हो ।
समुन्द्रले ग्रहभरि एक किसिमको ताप फैलाइरहेको छ । यो तापले विश्वको मौसमलाई पनि प्रभाव पारिरहेको हुन्छ । विश्वको समुद्र सतहबारे थाहा पाइयो भने वैज्ञानिकहरुले त्यो तापबारे पनि अध्ययन गर्न सक्छन् । जलवायु परिवर्तनका कारण तटरेखा पनि सर्दै जान सक्छ । जब ग्रह तात्न थाल्छ, तब समुद्रले हरित गृहमा भएको तातो सोस्न थाल्छ । हिमनदी र बरफका ढिक्काहरु पग्लिँदै गएपछि यो सर्ने क्रम छिटो-छिटो हुन थाल्छ ।
२५ वर्षदेखि निरन्तर रुपमा समुन्द्रको सतह बढ्दै गइरहेको छ । र यो भविश्यमा पनि बढ्दै जानेछ । जसले तटीय बाढी निम्तिने खतरा अध्याधिक हुन्छ । समुद्रमा आउन सक्ने आँधीबेहरीले उच्च जनसंख्या भएका क्षेत्रलाई पुनः आकार दिन सक्छ ।
विश्वमा प्रत्येक वर्ष ०.१३ इन्चका दरले समुन्द्रको सतह बढ्दै गइरहेको छ । अहिले यसमा ३० प्रतिशतले बृद्धि भएको नासाले जनाएको छ । फ्रिलिचले पनि जीवनकाल भरी पृथ्वीको समुद्र सतह बढेर हुने समस्या समाधान गर्न विश्वकै मानिसहरुको साथ र सहयोग चाहिने बताएका थिए । २०१४ मा स्थापित समुद्र सतह परिवर्तन विज्ञान समूहले नासा र अन्य संस्थासँग मिलेर समुन्द्र सतह बढ्दा हिमनदी, बरफ, समुन्द्र र भूमिको चालमा पर्ने प्रभावबारे अध्ययन गरेको छ ।
‘यो ठूलो लक्ष्यमा हामी साथ छौँ,’ नासाका कार्यक्रम प्रबन्धक नाड्या भिनोग्राडोभा शिफरले भन्छन्, ‘समुद्र सतह विभिन्न कारकहरुबाट प्रभावित हुन्छन्, त्यसैले हामीले विभिन्न कोणबाट विशेषज्ञहरुसँग सम्पर्क गरी अध्ययन गर्नुपर्छ ।’
यो स्याटलाइटको सहायताले सम्रग पृथ्वीको महासागर देखि वायुमण्डलसम्म कसरी जलवायु कसरी परिवर्तन हुँदैछ भनेर थाहा पाइने उनले दाबी गरे । (एजेन्सीको सहयोगमा)
प्रतिक्रिया