१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

६ वर्षीया बालिकाको शव बोरामा भेटियो, बलात्कारपछि हत्या आशंका



काठमाडौं ।
महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्या भएको छ। बलात्कारपछि बालिकाको हत्या भएको आशंका स्थानीयले गरेका छन्। बालिका हत्याको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्गमा प्रदर्शन सुरु गरेका छन् । मंगलबार बिहानैदेखि स्थानीयले सडकमा टायर बालेर गरेको प्रदर्शनको कारण पूर्वपश्चिम राजमार्ग ठप्प भएको छ ।

गएको आइतबार महोत्तरीको बर्दिबास-१४ शुभम् बस्तीका सहीद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुन बेपत्ता भएकी थिइन् । उनको शव सोमबार राति फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी राजन चापागाईंले जानकारी दिए ।

हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा बालिकाको शव फेला परेको हो । घर नजिकै रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ अवस्थित विनोद साहको खाली जग्गामा बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ ।

बालिकाको बलात्कार र हत्यामा संलग्न भएकोआरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गौशाला-५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरिएको डिएसपी चपागाइँले जानकारी दिए । साहले अपराध स्वीकार गरेका प्रहरीले जनाएको छ ।

घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या गरेको आशंका स्थानीयले गरेका छन् । तर, प्रहरीले भने पोष्टमार्टम रिपोर्टपछि मात्र बलात्कार भएरनभएको थाहा हुने जनाएको छ ।

आइतबार साँझ पसलमा चकलेट किन्न गएको बेला साहले बलिकालाई अपहरण गरेर घरमा लगेको र दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरेर हत्या गरेको आरोप स्थानीयले लगाएका छन् । बालिकाका बुवा शहिद आलमले पनि आफ्नी छोरीको बलात्कारपछि हत्या भएको बताएका बर्दिबासका स्थानीयवासी राजु ढुंगानाले जानकारी दिए ।

प्रकाशित मिति : ९ मंसिर २०७७ मंगलबार ००:००  ९ : १५ बजे