९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सरकारको लोकप्रियता देखेर आत्तिएः प्रधानमन्त्री ओली



ताप्लेजुङ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको खेदो खन्नेहरूले विभिन्न बहानामा बाधा निम्त्याएको बताउनुभएको छ । कालापानी, लिम्पियाधुरा र लिपुलेक नक्सामा समेटी सरकारले फिर्ता ल्याउँदा सरकारको खेदो खन्नेलाई गाह्रो परेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीले गुमेको जमिन फिर्ता आएमा सरकार लोकप्रिय हुने र अझै हाई–हाई हुने भएकाले बिथोल्ने काम भइरहेको तर सरकार कुनै पनि हालतमा राम्रा कमबाट पछि नफर्कने समेत बताउनुभयो ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ को घुन्सामा घुन्सा फाउण्डेशनले निर्माण गरेको स्वास्थ्य एकाइ भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले यो सुन्दर ठाउँलाई अझै पर्यटकका लागि झकिझकाउ बनाउनुपर्ने बताउनुभयो । घुन्सावासीका मागलाई सरकारले सम्बोधन गर्ने उहाँले विश्वास दिलाउनुभयो । साथै उहाँले सुन्दर घुन्सा गाउँलाई पर्यटकीय नमुना गाउँ घोषणा गरिसकिएकोले छिटै काम थालनी गरिने पनि बताउनुभयो ।

यस क्षेत्रमा बासिन्दाले उपचार नपाएर ज्यान गुमाउन नहुने भन्दै त्यसको लागि सरकारले पूर्ण सहयोग गर्ने प्रधानमन्त्रीको भनाइ छ ।

उहाँले चीनसँग जोड्ने तमोर करिडोरको काम छिट्टै सकेर चीनसँगको पारवहन सहज हुने बताउनुभयो । कञ्चजनङ्घा, कुम्भकर्ण जस्ता हिमाल रहेको र त्यही मार्गमा पर्ने कम्बाछेनमा रहेको जग्गालाई धनीपुर्जा उपलब्ध गराउन सरकाले प्रक्रिया अगाडि बढाउने उहाँको भनाइ छ ।

अहिले विकासको काम तीव्र गतिमा भएको बताउँदै प्रधानमन्त्री ओलीले जताततै बाटो–घाटो, पुल जोडिएकोले गाउँमा सहज भएको बताउनुभयो ।

सरकारको खेदो खन्नेहरूले मात्र कामको मूल्याङ्कन नगरेको तर वास्तवमा सरकारले धेरै काम गरेको उहाँले दाबी गर्नुभयो । लोकतन्त्र, सङ्घीय गणतन्त्रको लागि काम गर्ने यो सरकारले कुनै कसर नराखी देश र नागरिकका लागि काम गर्ने उहाँले बताउनुभयो ।

केन्द्र, सङ्घ र पालिका सबै मिलेर देशका लागि काम गर्नुपर्ने बताउँदै ओलीले राम्रो काम गरेर देश र नागरिकको मन जित्ने बताउनुभयो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनको सीमावर्ती ओलाङचुङगोलामा स्थापित बीओपीको समेत निरीक्षण गर्नुभयो ।

प्रकाशित मिति : ८ मंसिर २०७७ सोमबार ००:००  ३ : २० बजे