कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुर घर भई कान्तिबाल अस्पतालमा ब्लड क्यान्सरको उपचार गराईरहेका बालक सार्थक खनाललाई नर्वेबाट आर्थिक सहयोग जुटेको छ ।
कपिलवस्तु घर भई बिगत १० बर्षदेखि नर्वेमा बस्दै आएका युवा ब्यवसायी मनोज अधिकारीले आफु र आफना साथीहरुको सहयोगमा बालकको स्वास्थ्य उपचारमा एक लाख १० हजार रुपैया सहयोग रकम पठाएका हुन् ।
मनोज अधिकारी संविधान सभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टीका नेता बलराम अधिकारीका छोरा समेत हुन् । अधिकारी नर्वेमा बसेर नेकपाको प्रवासी नेपाली सङ्गठित मञ्च र अन्य सामाजिक संघसंस्थामार्फत सामाजिक काममा क्रियाशील रहदै आएका छन् । उनले जिल्ला वासीको नाताले बालकको उपचारका लागि थप सहयोगका लागि विभिन्न व्यक्तिहरुसंग समन्वय गरिरहेको बताए ।
अधिकारीले पठाएको १ लाख १० हजार सहयोग रकम युवा उधमी विशाल गैरेले आईतवार अस्पताल परिसरमै गएर बालकका बुवा होमेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् । बुवा होमेश्वर खनालका अनुसार हालसम्म उपाचारबापत १२ लाख खर्च भईसकेको र अझै १२ देखि १५ लाख रुपैया थप खर्च लाग्ने डाक्टरहरुले बताएको जानकारी गराए ।
मध्यम वर्गीय परिवारका खनालले बिभिन्न देशमा छरिएर रहेका कपिलवस्तु र अन्य जिल्लाका नेपालीहरुकोे सहयोगको हात अघि बढाएको बताए । ब्लडक्यान्सरको उपचारकै क्रममा इन्फेक्सन भएर एउटा आँखासमेत कमजोर भएको र स्वास्थ्य उपचारमा आर्थिक संकट भइरहेकाले बिभिन्न देशमा भएका नेपाली नागरिक र सरकारबाट सहयोग प्राप्त भए उपचारमा सजिलो हुने उनको भनाइ छ ।
प्रतिक्रिया