१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बलात्कारका घटना मिलापत्र गराउनेलाई ३ वर्षसम्म कैद



काठमाडौँ ।

सरकारले बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिहरुलाई कारबाही गर्न कानुनी बाटो खोलेको छ । यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार जरिवाना हुने व्यवस्था छ ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो मिलापत्र गराएमा थप ६ महिना कैद सजाय हुने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङफेले बताइन् । मुलुकी अपराध संहिता, मुलुकी अपराध कार्यविधि र ज्येष्ठ नागरिक ऐनमा रहेका बलात्कार सम्बन्धीको व्यवस्था परिमार्जन गर्दै सरकारले अध्यादेश ल्याएको हो ।

अध्यादेशमा १० वर्ष मुनि र ७० वर्षमाथिका व्यक्तिलाई बलात्कार भएमा जन्मकैद हुने व्यवस्थालाई यथावत नै राखिएको छ । यसअघि कसुरदार ज्येष्ठ नागरिक भएमा क‌ैद मिनाहा गर्ने कानुनी व्यवस्थामा परिवर्तन गरेर अबदेखि बलात्कार मुद्दामा कैद मिनाहा नहुने व्यवस्था राखिएको मन्त्री तुम्बाहाङफेले जानकारी दिइन् ।

यसअघि महिला तथा बालिका माथि बलात्कार भन्ने शब्द कानुनमा रहेकोमा अबदेखि व्यक्ति भन्ने शब्द राखिएको छ । पुरुषमाथि पनि बलात्कार हुने भएकोले व्यक्ति भन्ने शब्द राखिएको उनले बताइन् । यसअघि १४ देखि १६ वर्षसम्मको बालिका बलात्कार गर्नेलाई १२ देखि १४ वर्षसम्म कैदको व्यवस्था रहकोमा अध्यादेशमा उमेर परिवर्तन गरेर १२ देखि १६ वर्ष कैद गर्ने व्यवस्था छ । १६ देखि १६ वर्षको व्यक्तिलाई बलात्कार गरेमा १० देखि १२ वर्ष कैदको व्यवस्था परिवर्तन गरेर १० देखि १४ वर्ष कैद सजाय गर्ने अध्यादेशमा उल्लेख छ ।

१८ वर्षभन्दा माथिकालाई बलात्कार गरेमा ७ देखि १० वर्ष कैदको व्यवस्था परिवर्तन गरेर अध्यादेशमा १० देखि १२ वर्ष कैद गर्ने व्यवस्था राखिएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्नेसम्बन्धी अध्यादेश पारित गरेको थियो । उक्त अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको छ । कानुन मन्त्रालयले अध्यादेश तयार पारेर मन्त्रिपरिषद्‍मा पेस गरेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७७ आइतबार ००:००  ४ : २५ बजे