काठमाडौं ।
प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सातौं पुनर्गठन दिवस मनाइरहँदा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
प्रहरीको विशेष ब्युरोले विप्लव समूहका नेतामाथि निगरानी बढाएको छ भने सडकमा समेत सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले पनि चेकजाँच र प्रहरी उपस्थितिमा कडाइ गरिएको बताए ।
सशस्त्र प्रहरीले पनि ठाउँठाउँमा टोली परिचालन गरेको छ । सादा पोशाकका टोली पनि परिचालित छन् । राष्ट्रिय अनुसन्धान विभागले पनि समूहका सम्भावित गतिविधिमाथि निगरानी बढाएको छ ।
विप्लव समूहले आफ्नो पुनर्गठन दिवस ६, ७ र ८ मंसिरमा देशभर प्रदर्शन सभा र उत्सव मनाउने घोषणा गरेको छ । त्यसक्रममा कुनै अप्रिय एवं आपराधिक क्रियाकलाप पनि हुनसक्ने विश्लेषणसहित सुरक्षा व्यवस्था कडा पारिएको हो ।
प्रतिक्रिया