१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आजको मौसमः गण्डकी र प्रदेश १ मा हल्का पानी पर्ने सम्भावना



काठमाण्डौ ।

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

मौसमविद् मिनकुमार अर्यालका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएको छ । बाँकी प्रदेशका पहाडी क्षेत्रमा भने आंशिकदेखि सामान्य बद्ली रहेको छ । आज गण्डकी प्रदेश र एक नम्बर प्रदेशमा हल्का पानी पर्ने मौसमविद् अर्यालले बताउनुभयो ।

स्थानीय वायुको प्रभावका कारण यी क्षेत्रका केही ठाउँमा पानी पर्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकाको मौसम अहिले बद्ली भए पनि बिस्तारै खुल्दै जाने अनुमान गरिएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम हिजो अस्तिको भन्दा बढेको छ ।

५ डिग्री सेल्सियससम्म झरेको काठमाण्डौको न्यूनतम तापक्रम आज भने ८ डिग्री सेल्सियस मापन गरिएको छ । रातको समयमा बादल लागेकाले न्यूनतम तापक्रम बढेको मौसमविद् अर्यालले बताउनुभयो । उहाँका अनुसार रातको समयमा बादल लाग्दा पृथ्वीबाट जाने ताप बादलले रोकिदिन्छ तर त्यो पुनः फर्किएर पृथ्वीमा नै आउँछ ।

यसले गर्दा जमिन तातै रहन्छ । तर आकाश सफा भयो भने न्यूनतम तापक्रम घट्छ । यस्तै दिउँसोको समयमा बादल लागे पनि चिसो बढ्छ । सूर्यका किरण बादलले छेकिदिने हुँदा दिउँसोको समयमा बादल लागेमा चिसो बढ्ने मौसमविद्ले बताएका छन् । आज काठमाण्डौको अधिकतम तापक्रम २० देखि २२ डिग्रीसम्म पुग्ने पूर्वानुमान छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७ शनिबार ००:००  ८ : १५ बजे