मायादेवी अनलाइन कपिलवस्तु ।
आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत पुर्ण प्रसाद न्यौपानेलाई विभिन्न निकायले विदाई गरेका छन् । आन्तरिक राजश्व कार्यालय कृष्णनगरबाट ठुला करदाता कार्यालय ललितपुर सरुवा हुनुभएका न्यौपानेलाई बुधबार कपिलवस्तु स्थित विभिन्न निकायले विदाई गरेका छन् । २ वर्ष अघि आन्तरिक राजश्व कार्यालय कृष्णनगरमा प्रमुखको जिम्मेवारीमा आउनु भएका न्यौपाने तिहार लगत्तै सरुवा हुनु भएको छ ।
उहाँलाई कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेल, कपिलवस्तुका शसस्त्र प्रहरी उपरिक्षक ध्रुव कार्की, जनप्रतिनिधी सुदिप पौडेल, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, महासचिव लक्ष्मण अधिकारी, समाजसेवी विरेन्द्र श्रेष्ठ, डोलकराम घिमिरे, आन्तरिक राजश्व कार्यालयका कर्मचारी, स्थानीय समाजसेवी लगाएतले विदाई गरेका हुन् ।
कपिलवस्तु आएलगत्तै कार्यालय प्रमुख न्यौपानेले करदातालाई सहज र सरल तरिकाले सेवा प्रवाह गर्न कार्यालयमा सुधारका धेरै काम गर्नु भएको थियो । साना तथा ठुला करदातालाई करको दायरामा ल्याउन कार्यालयले सेवा प्रवाहलाई झन्झट मुक्त र सहज तरिकाले सेवा प्रवाह गर्दै आइरहेको प्रमुख न्यौपानेले बताउनु भयो । उहाँले करका विषयमा विभिन्न समयमा जिल्ला स्थित विभिन्न वाणिज्य संघसंग समन्वय र सहकार्य गरिरहेको समेत जानकारी दिनुभयो ।
कोभिड महामारी आउनु अघि र त्यस पछिका समयमा पनि कार्यालयले १४ वटा विभिन्न सूचकमा उल्लेख्य प्रगती हासिल गरेको छ । लक्ष्य भन्दा अधिक व्यवसायिक र व्यक्तिगत पान दर्ता, अनिवार्य मुल्य अभिवृद्धि करमा दर्ता, अन्त शुल्क दर्ता र नवीकरण जस्ता क्षेत्रमा कार्यालयले ठुलै प्रगति हासिल गरेको प्रमुख न्यौपानेको भनाइ छ ।
उहाँको कार्यकालमा अर्घाखाँची र कपिलवस्तुमा गरी १।१ वटा करदाता सेवा कार्यालय संचालन भएको छ । तौलिहवा र सन्धीखर्कमा करदाता सेवा कार्यालय शुभारम्भ गरेर विकट र असुविधा पुगेका करदातालाई धेरै सहजता पुगेको छ, उहाँले भन्नुभयो – आफु कार्यालय रहुन्जेलसम्म सेवाग्राही मैत्री सेवा प्रशासनमा केन्द्रित रहेको थिए । कार्यालय हाता भित्र वैंक काउण्टर, करदाताको सुविधाको लागि ट्रष्टको व्यवस्था, सूचना अधिकारीको जिम्मेवारी जस्ता नयाँ कामहरु भएका थिए ।
विगतमा केही वर्षहरु कपिलवस्तुमा कर कार्यालयका कर्मचारी आएभनेपछि साना व्यवसायीहरु भाग्नु पर्ने परिस्थिती व्यवसायीले प्रत्यक्ष भोगेको बताउदै कपिवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले पछिल्लो समय उक्त अवस्था हटेर गएको बताउनुभयो ।
आन्तरिक राजश्व कार्यलय कृष्णनगर संग नियमित समन्वय र सहकार्यमा कर शिक्षा संचालन गरेर उद्योगी व्यवसायीलाई धेरै फाइदा पुगेको अध्यक्ष पौडेलले बताउनुभयो । कार्यालय प्रमुख न्यौपाने कपिलवस्तु बसुन्जेल जिल्लाका उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्दै करदाता मैत्री व्यवहार र सहकार्यको निती राम्रो लागेको भन्दै संघका सदस्य डोलकराम घिमिरेले प्रशंसा समेत गर्नु भएको छ ।
प्रतिक्रिया