१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

विश्व विजेता फ्रान्सको शानदार जित, रेलिगेशनमा पर्‍यो स्वीडेन



एजेन्सी ।

युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रान्स विजयी भएको छ । विश्व विजेता फ्रान्सले घरेलु मैदानमा भएको खेलमा स्वीडेनलाई ४–२ ले पराजित गरेको हो । फ्रान्सका लागि ओलिभर जिरउडले दुई तथा पाभार्ड र कोम्यानले एक एक गोल गरे । स्वीडेनका लागि क्लाएसन र क्वाइसनले एक एक गोल गरे पनि हार टार्न सेकनन् ।

चौथो मिनेटमा भिक्टोर क्लाएसनले गोल गरी स्वीडेनलाई अग्रता दिलाए । १६ औँ मिनेटमा जिरउडले फ्रान्सका लागि बराबरी गोल फर्काए । ३६ औँ मिनेटमा बेन्जामिन पाभार्डले गोल गरेपछि पहिलो हाफमा फ्रान्सले २–१ को अग्रता लियो । जिरउडले ५९ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । जिरउडले फ्रान्सका लागि अहिलेसम्म ४४ गोल गरेका छन् ।

८८ औँ मिनेटमा क्वाइसनले स्वीडेनका लागि अर्को गोल थपे । इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा किङ्गस्ली कोम्यानले गोल गरेपछि फ्रान्स ४–२ ले विजयी भयो । विजयी भएको फ्रान्स समूह ए थ्रीको शीर्ष स्थानमा छ भने स्वीडेन रेलिगेशनमा परेको छ । फ्रान्स भने यसअघि नै आउँदो वर्ष हुने नेशन्स लिगको फाइनल चरणका लागि छनौट भएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७७ बुधबार ००:००  ६ : ४९ बजे