१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आजदेखि तराईका जिल्लामा छठ पर्व शुरु हुँदै, नदी तथा तलाउमा यस्ता छन् प्रतिबन्ध




काठमाण्डौँ ।
। बुधबारदेखि छठ पर्व विधिवत रुपमा शुरु हुँदैछ । छठका लागि किनमेल सुरू भएपनि विगतमा जस्तो यसपटक प्रदेश २ का जलासयहरू तथा कपिलवस्तु लगायतका तराई जिल्लामा चहलपहल देखिएको छैन । कारण हो–नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी । प्रदेश २ का अधिकांश जिल्ला प्रशासन कार्यालयले आ–आफ्नै घरमा छठ पर्व मनाउन आग्रह गरेका छन् ।

कतिपय जिल्लामा जलासयमै मनाइए एउटा परिवारबाट ब्रतालुसहित दुई जनासम्म मात्रै जान आग्रह गरिएको छ ।प्रशासन कार्यालयले घरमै पर्व मनाउन आग्रह गरेपनि सार्वजनिक र निजी जलाशयहरूमा घाट निर्माणको काम सुरू भएको देखिन्छ ।

जनकपुरधामको गंगासागरसहितका पोखरीमा घाट बनाउने काम सुरू भएको छ । रौतहटको चन्द्रनिगाहपुरस्थित चाँदी नदीको किनार, गौरस्थित बरहबा तालसहितका जलासयमा घाट बनाउन सुरू गरिएको छ भने वीरगञ्जको घडीअर्बालगायतका पोखरीमा पनि घाट तयार पार्ने काम प्रारम्भ गरिएको छ ।

सप्तरी, महोत्तरी, सर्लाही, बारा र सिराहा जिल्लाका जलासयमा पनि घाट निर्माण गर्न शुरु गरिएको छ । घाट निर्माण गरिएपनि यस पटकको छठ पर्व भने खल्लो रहने स्थानीयवासी बताउँछन् ।

प्रजिअहरूले सकेसम्म घरमै बनाउन र जलासयमै जाने भए भीडभाड नगर्न आग्रह गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई छठ पर्व घरमै मनाउन आग्रह गरिएको बताउँछन् ।जलासयमा जानेहरूलाई पानीमा नडुबिकन छठ मनाउन समेत भट्टराईले आग्रह गरे ।बाराका प्रजिअ दीपकराज नेपालले सुरक्षा समितिको बैठक बसेर भिडभाड नगरीदिन आग्रह गरिएको बताउँछन् ।

महोत्तरीका प्रजिअ कृष्णबहादुर कटुवाल छठ मनाउँदा अनिवार्य भौतिक दूरी कायम गर्नुपर्ने बताउँछन् । पर्सा जिल्लामा भने यसपटक पण्डाल लगाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्याले जलाशयमा बढीमा ब्रतालु र एक जना सहयोगी मात्र जान आग्रह गरेको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल छठ पर्वको घाटसम्म ब्रतालु र उनको साथमा एक जनालाई मात्रै जान आग्रह गरिएको बताए । उनले छठ पर्वलाई हेर्ने र भिडभाड भएको ठाउँँमा स्वयंसेवक र प्रहरी परिचालन गर्ने जानकारी दिए ।

प्रकाशित मिति : ३ मंसिर २०७७ बुधबार ००:००  ६ : ०७ बजे