१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

यस बर्षको तिहारबारे सर्वसाधारण भन्छन् ‘नुन नहालेको तरकारी जस्तो भयो’



मायादेवी अनलाइन, चार नम्बर ।

सोमबार नेपालीहरुको दोश्रो ठुलो पर्व महान तिहार अर्थात् भाइटिका मनाइएको छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गरी परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टिका लगाएपछि भाइटिका पर्व मनाइएको हो ।
भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाए पछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने काम गरे भने दाजुभाइलाई विशेष पूजा गर्नाले पनि गरे ।

अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने विशवासमा दिदीबहिनीले आफ्ना दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गीटीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइ दिएका छन् ।

टीका लगाइ दिएपछि दिदीबहिनीले दाजुभाईलाई ओखर, कटुस, मसला र सेलरोटी लगायतका मिठोमिठो खानेकुरा दिने र दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक परम्परा छ।

के भन्छन् सर्वसाधारण ?

हिन्दू धर्मावलम्बी नेपालीहरुले महत्वका साथ मनाउने तिहारलाई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले सुनसान बनाएको छ । कपिलवस्तु लगायत देशभरमा बिगतका वर्षमा जस्तो तिहारको रौनक देखिएन । कोरोना महामारीको जोखिमका कारण तिहार सुनसान भयो ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ झुँगाका राम प्रसाद न्यौपानेले यसपटकको तिहार त्यति रमाइलो नभएको बताउनु भयो । देउसीभैलोमा हुने रैछ तिहारको महत्व, उहाँको भनाई छ । नाचगान र देउसीभैलो भट्याउन नपाए त टिका लगाएर मात्र त्यति रमाइलो नहुने रैछ । पहिलोपटक यस्तो अनुभूति गर्दै छु, अनुभूति छ ।

कोरोनाका कारण जिल्ला प्रशासनले भैलीदेउसी खेल्न रोक लगाएपछि फाट्टफुट्टबाहेक कहिँँ कतै यस्तो कार्य भएन । कतिपय स्थानमा त मास्क नै नखोली तिहारमा टिका लगाउने काम पनि भयो ।

कंचन गाउपालिका स्थायी घर भएकी लक्ष्मी पौडेललाई पनि यसपटकको तिहार त्यति रमाइलो लागेनछ । कोरोनाको कारण आफू कहिँ कतै नगएको बताउँदै पौडेलले इतिहासका कुनै मोडमा आउने यस्ता परिघटनालाई स्वभाविक रुपमा लिनु पर्ने बताउनु भयो । स्वास्थ्य ठुलो कुरा रहेको हुँदा अहिले नरमाइलो लागे पनि अर्को साल भने रमाइलो गर्न सकिने उहाँले बताउनु भयो ।

बाणगंगा नगरपालिका वडा नम्बर ४ कै खिमानन्द न्यौपाने भन्नुहुन्छ, ‘यसपालिको तिहार नुन नहालेको तरकारी जस्तो भयो,’ ‘घरमै सिमित भएर मनाउँदा कस्तो लाग्यो कस्तो ? अहिले ७४ बर्ष हुँदा पहिलोपटक यस्तो अनुभव गरेको छु । खिमानन्दजस्तै अरु सर्वसाधारणले पनि तिहारमा यस बर्ष त्यति रमाइलो नभएको बताए । झुँगाकै दामोदर पौडेलले तिहार भनेकै देउसो नै रहेछ भन्ने कुरा अहिले बुझ्न पाएको मायादेवीसंग सुनाउनु भयो ।

गत बर्षहरुमा विभिन्न संघ संस्था, आमा समूह, युवा क्लबले तिहार सुरु भएदेखि (पहिलो दिन) नै समूह बनाएर देउसीभैलो खेल्दा गाउँसहर रमाइलो हुने गरेको थियो । तर यसपटक तिहारको अन्तिम दिनसम्म पनि रमाइलो जमघट हुन सकेन । ससाना बालबालिका फाट्टफुट्ट रुपमा समुहमा विभाजन भएर देउसी भैली खेले पनि अन्य ब्यक्ति र संस्थाहरुले भने प्रशासनको निर्णयलाई मानेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७७ सोमबार ००:००  ७ : २६ बजे