१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

अर्को जाडोयामसम्ममा कोरोना महामारी सामान्य हुन्छः खोप निर्माता



एजेन्सी ।
खोप निर्माताहरूले आउँदो वर्षको जाडोयाससम्म कोरोना महामारी सामान्य अवस्थामा आउने बताएका छन् । औषधि उत्पादक कम्पनी बायोटेकका सह संस्थापक प्राध्यापक उगुर साहिनले आउँदो गर्मीयाममा खोप सफल भइ पहुँचमा उल्लेख्य वृद्धि हुने र त्यसको असरले अर्को जाडो सुरु हुँदासम्म महामारी सामान्य अवस्थामा आउने बताउनुभएको बीबीसीले जनाएको छ ।

बायोटेकले गएको हप्ता उसले आविष्कार गरेको खोपले ९० प्रतिशत मानिसलाई कोरोना लाग्नबाट बचाउने दाबी गरेको थियो । झण्डै ४३ हजार जनाले यो खोपको परीक्षणमा सहभागिता जनाएका थिए । यो सफलतासँगै अहिले विश्वमा कोरोना महामारीप्रतिको गम्भीर चिन्ता कम हुँदै गएको खबरमा उल्लेख छ ।

बीबीसीको वान्स एन्ड्रियु मार शो कार्यक्रममा प्राध्यापक सहिनले खोपले मानिसबीचको सङ्क्रमण घटाउने र खोप लगाएका कसैमा पनि लक्षण विकास हुनबाट रोकिने आशा व्यक्त गर्नुभएको छ ।

यो वर्षको अन्त्यसम्म बेलायतले बायोटेकरफिजर कम्पनीको खोप १० लाख डोज प्राप्त गर्ने बताइएको छ, बेलायतले यसअघि नै तीन करोड खोपको डोजको अर्डर गरिसकेको छ । अहिले ६ देशमा परीक्षण भइरहेको खोपलाई तीन हप्ताभित्र दुई खेप लगाउनुपर्ने हुन्छ ।

यसैबीच विश्वमा एकैदिन चार लाख ७० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै एक लाख २४ हजार पाँच सय ६८ सहित विश्वमा चार लाख ७० हजार चार सयभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा छ हजार चार सय ५३ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । विश्वमा अहिलेसम्म पाँच करोड ४७ लाख ८६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएकोमा १३ लाख २३ हजार आठ सयभन्दा धेरैको ज्यान गइसकेको छ ।

यस्तै सङ्क्रमितमध्ये तीन करोड ८१ लाख ११ हजारभन्दा धेरै निको भएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७७ सोमबार ००:००  ६ : ३२ बजे